महिला स्वरोजगार बन्दै

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख ०३, २०७३ | १०:४७:२१

पाल्पा , ३ वैशाख । मदनपोखराकी सावित्री सुनार ढाका बुनाइको आम्दानीले घरखर्च चलाउनुका साथै छोराछोरीको पठनपाठन पढाइ रहेकि छन ।

यस्तै मस्यामकी भगवती दर्लामी पनि पाल्पाली ढाकाको हाते तान बुनेर जीविका चलाउँदै आएकि छन। उनका श्रीमान्ले विदेशमा कमाएको पैसा बचत भएको छ ।

दर्लामी र सुनार मात्र होइन छापमा ४० भन्दा बढी महिलाले ढाका कपडा बुन्ने रोजगारी पाएका छन् । उनीहरुले ढाका कपडा बुनेर मासिक रु पाँच हजारदेखि रु १५ हजारसम्म कमाउने गरेका छन् । मदनपोखरा, तानसेन नगरपालिका, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दिपोखरा, अर्गलीलगायत क्षेत्रमा हाते तान र जेकार्डबाट ३०० भन्दा बढी महिलाको रोजगारी ढाकाकपडा बुनाइ बनेको छ ।

जिल्लाकै पहिलो ढाका उद्यमी तथा पाल्पाली ढाका कपडाकी संस्थापक पूर्णमाया महर्जनले महिला आफैँले व्यवसाय गरी ढाका कपडा बुनेर आत्मनिर्भर बन्दै गएका बताइन । छिटो बुनिने हुँदा पछिल्लो समय पाल्पाली ढाका हातेतान भन्दा पनि मेसिनबाट चल्ने जेकार्ड हाते तानमा बुन्ने गरिन्छ । विसं २०१५ मा तानसेनमा हाते तान सुरु गरे पनि विस्तारै यसको मेहनत अनुसारको आम्दानी हुन छाडेपछि जेकार्डबाट बुन्न थालिएको महर्जनको भनाइ छ ।

मदनपोखराको छापमा ढाका उद्योग सञ्चालन गर्नुभएका अमृत श्रेष्ठले ज्याला वृद्धि भएपछि मनग्य कमाइ हँुदा यहाँका महिला ढाका बुनाइ कपडाबाट आत्मनिर्भर बन्दै गएको बताए। एक मिटर ढाका बुनेको रु १९० देखि रु ४०० सम्म ज्याला तथा विभिन्न अकारप्रकारमा बुनिने ढाकाको बुट्टाअनुसार फरक÷फरक ज्याला दिने गरेको ढाका उद्योगी रामबहादुर ठकुरी बताए ।

तानसेनमा सञ्चालित १३ वटा उद्योगले गाउँमा महिलाले बुनेका ढाका कपडा खरिदबिक्री गर्दै आएका छन् । विसं २०१५ मा गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि यसको सुरुवात भएको बताइन्छ । उहाँकी श्रीमती पूर्णमायाका अनुसार त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट बुन्ने काम गराउँदा बन्दिलाई ढाका कपडा आम्दानीको राम्रो माध्यम बनेको थियो ।

श्रीमान् नभएका, श्रीमान्ले दुःख दिएका, गरिब, विपन्न महिलाको बलियो रोजगारी ढाका कपडा बुनाई बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै ख्याती कमाएको पाल्पाली ढाकाको व्यापारको माग बजारमा बढ्दो छ । पहिला तानसेनका हरेक घरमा तान चलाएर ढाकाको उत्पादन गरिन्थ्यो । तर अहिले ती तान चलाउन छाडिएपछि उत्पादन कम माग बढी भएको ढाका व्यवसायी बताउँछन् ।

ढाकाका सामग्री जिल्लामा घुम्न आउने आन्तारिक तथा बाह्य पर्यटकले उपहारको रुपमा लैजाने गरेका छन् ।

सम्बन्धित खबर