भूकम्पस्मृति पार्कको शिलान्यास गर्न राष्ट्रपति बारपाक जाने

दियो पोस्ट  

गोरखा, १० वैशाख । ‘गोरखा भूकम्प’ गएको एक वर्ष पुगेको दिन वैशाख १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प स्मृति पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा बारपाक–४ मा स्मृति पार्क बनाउने निर्णयअनुसार राष्ट्रपतिले शिलान्यास गर्ने कार्यक्रम रहेको स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिए  ।

स्थानीय निकाय र सरकारको स्वामित्वमा रहेको २१८ रोपनी क्षेत्रफल र कित्ता नम्बर ५९४ मा रहेको पर्ति जग्गामा स्मृति पार्क बनाउने निर्णय गरिएको हो । सो जग्गा पार्क बनाउन उपयुक्त रहेको अध्ययन समितिले बताएको छ । जिल्ला प्राविधिक कार्यालय, नापी कार्यालय, जिल्लास्थित भवन कार्यालयका प्राविधिकले पार्क बनाउन उपयुक्त रहेको निर्णय दिएपछि सोही ठाउँमा स्मृति पार्क बनाउन लागिएको हो ।

बारपाक गाउँदेखि माथि जङ्गलदेखि तल बीचको खाली जमिनमा पार्क बनाउन लागिएको आचार्यले बताए  । “जिविसले पार्क बनाउने तयारी गरेकै ठाउँमा भूकम्प स्मृति पार्क बनाउने तयारी गरिएको छ”, उनले भने, “वैशाख १२ मा राष्ट्रपतिले स्मृति पार्कको शिलान्यास गर्नुहुन्छ ।”

यस्तै, भूकम्पले क्षति पु¥याएको वडा नं ५ को बस्तीलाई पनि पार्कमा गाभ्ने तयारी गरिएको छ । भूकम्पले जमिन चिराचिरा हुँदा वडा नं ५ का ४० घरधुरी दलित बस्तीका भूकम्पप्रभावित वडा नं ४ को सरकारी जग्गामा टहरो बनाएर बस्दै आएका छन् । उनीहरुले आफूहरुलाई स्थापित गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्न आग्रह गर्दै आएको भए पनि वैशाख १२ गते बारपाकमा अनुदान प्रक्रिया सुरुवात गर्न एकजना लाभग्राहीसँग अनुदानको सम्झौता गर्ने तयारी गरिएको छ ।

सम्बन्धित खबर