भूकम्पमा बाँच्न सफल अवाललाई सेनाले स्नातकसम्म पढाउने

दियो पोस्ट  

काठमाडौँ, १२ वैशाख । नेपाली सेनाले गत वर्षको भूकम्पमा परेर बाँच्न सफल नाबालक सोनिस अवाललाई स्नातक तहसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ ।

‘गोरखा भूकम्प’ को एक वर्ष पुगेको दिन पारेर सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवाललाई शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
भक्तपुर मूलढोका निवासी श्याम अवालका सुपुत्र सोनिसलाई स्नातक तहसम्मको शिक्षा प्राप्त गरुन्जेल लाग्ने सबै खर्चको व्यवस्था मिलाइने जनाइएको छ । अघिल्लो वर्ष वैशाख १२ गतेको भूकम्पमा परेका अवाललाई नेपाली सेनाको प्रयासमा २२ घन्टापछि सकुशल उद्धार गरिएको थियो ।

अभिभावकले छनोट गरेको विद्यालयमा कक्षा ५ सम्म शिक्षाआर्जन गर्दा सोनिसलाई लाग्ने सबै खर्च नेपाली सेनाले उपलब्ध गराउने तथा त्यसपछि वीरेन्द्र आवासीय महाविद्यालय भक्तपुरमा स्नातक तहसम्म अध्ययनको व्यवस्था मिलाइने सेनाले जनाएको छ । सेनाले भूकम्प गएको २२ घन्टापछि सकुशल उद्धार गरेको नाबालक अवालको तस्बिरले विश्वभर चर्चा पाएको थियो ।

भूकम्पबाट घर भत्किएर बिचल्लीमा परेको अवाल परिवारको जग्गाको लालपुर्जा नभएका कारण सरकारबाट प्रदान गरिने अनुदान हालसम्म प्राप्त गर्न नसकिएको उनकी आमा रस्मिलाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो गरेकि थिइन ।

नेपाल टेलिभिजनबाट प्रस्तुत प्रधानमन्त्रीसँग सिधा कुराकानी कार्यक्रममा सबैले धेरथोर राहत पाएको तर आफूले जग्गाको लालपुर्जा नभएका कारण राहत पाउन नसकेको भन्ने रस्मिलाको चिन्तालाई शान्त तुल्याउँदै प्रधानमन्त्रीले भने – “प्रमाणको कुरा होइन, मान्छेको कुरा हो, घर भत्किएको कुरा हो, तपाईंले सहयोग पाउनुहुन्छ ।”