नुवाकोट, १३ वैशाख । गत वर्ष विनाशकारी भूकम्प गएको आइतबार एक वर्ष पुगेको स्मरणमा नुवाकोटका तीन वटा निर्वाचन क्षेत्रबाट पुनःनिर्माण अभियान सुरु गरिएको छ ।
क्षेत्र नं १ को रातमाटे, क्षेत्र नं २ को खरानीटार र क्षेत्र नं ३ को चारघरेबाट निजी आवास अनुदान सम्झौता सुरु गरी निजी आवास निर्माण अभियान सुरु भएको घोषणा गरिएको हो । भूकम्पबाट नुवाकोटमा भत्केका झन्डै ७२ हजार निजी घर पुनःनिर्माण गर्नुपर्ने सरकारी तथ्याङ्क रहेको छ ।
क्षेत्र नं १ को रातमाटेमा आयोजित कार्यक्रममा सो क्षेत्रका सांसद एवम् काँग्रेस नेता अर्जुननरसिंह केसीले रातमाटे गाविस–१ का ठूलोकृष्ण लामालाई आवास अनुदानको सम्झौता हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा नेता केसीले एकै परिवार भूकम्पपछि छुट्टिएर चार परिवारसम्म भएकाले राहत वितरणमा समस्या भएको बताउँदै वास्तविक पीडितलाई यस्ता गतिविधिले बाधा पर्ने हुँदा निःस्वार्थ हुन आग्रह गरे ।
उनले राष्ट्रिय विपद्को बेलामा राजनीतिबाट माथि उठेर जुनसुकै दलको पीडित भए पनि सहयोग गर्न चुक्न नहुने स्पष्ट पारे ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भूकम्पपीडितको घर निर्माणको लागि दिइने अनुदान रकम दिन केही समय ढिला भए पनि सरकारले अब तीव्र गतिमा पुनःनिर्माण अभियान थाल्नेमा आफू विश्वस्त रहेको बताए ।
गाविस सचिव रामशरण भण्डारीले रातमाटे गाविसमा एक हजार १४८ घर भूकम्पबाट भत्केको तथ्याङ्क गाविससँग रहे पनि पछिल्लो तथ्याङ्क घटेर ८९५ जना लाभग्राहीले घर निर्माणको लागि रु दुई लाख प्राप्त गर्ने नामावली कार्यालयमा प्राप्त भएको बताए ।
निजी आवास निर्माण सम्झौताका लागि क्षेत्र नं २ को सुन्दरादेवीमा सांसद एवम् काँग्रेस नेता डा प्रकाशशरण महत, क्षेत्र नं ३ को चारघरेमा सांसद बहादुरसिंह लामाले सम्झौता फारम घरधनीलाई हस्तान्तरण गरे ।
खरानीटार गाविसमा निजी घरको शिल्यान्याससमेत गरिएको छ । निजी आवासको लागि अनुदान प्राप्त गर्ने घरधनीको नाम सार्वजनिक भएका बागेश्वरी, बालकुमारी, बर्सुन्चेत, बेलकोट, बेतिनी, भदु्रटार, भाल्चे, बुधसिं, बुङताङ, चारघरे, चतुराले, चाउथे, छाप, दाङसिं, देउराली, दुईपीपल, फिकुरी, गाउँखर्क, घ्याङ्फेदी गाविस रहेको छ ।
यस्तै जिलिङ, हल्देकालिका, कल्याणपुर, खड्गभन्ज्याङ, लच्याङ, मदानपुर, मनकामना, पञ्चकन्या, रातमाटे, राउतवेसी, साल्मे, सामरी, समुन्द्रदेवी, समुन्द्रटार, शिखरबेँसी, सिक्रे, सुन्दरादेवी, सुनखानी, तारुका, थानापति, थप्रेक गाविसमा पनि घर निर्माणको लागि रु दुई लाख प्राप्त गर्ने पीडितको नामावली प्रकाशित गरिएको छ ।
भूकम्पमा परी नुवाकोटका एक हजार ११२ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क रहेको छ । त्यति नै सङ्ख्यामा घाइते भएको तथ्याङ्क छ ।