पुनःनिर्माणको लागि अन्तर्राष्ट्रिय समुदायको खाँचो ः उपप्रधानमन्त्री थापा

दियो पोस्ट  

वासिङ्टन डिसी, १४ वैशाख । नेपालमा गएको प्रलयकारी भूकम्पको पहिलो वर्ष वासिङ्टन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापासँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घरको निर्माण त्यसपछि बाटो र पुल अनि स्कुल र स्वास्थ्य चौकी, पर्यटकीय स्थानको हुने बताए ।

उनले नेपालले भूकम्पबाट नौ हजार मानिसको जीवन गुमाउनु प¥यो, छ लाख घरधुरी बस्न नहुने गरी भत्किएको र सात अर्ब अमेरिकी डलरको क्षति भएको जानकारी दिए ।

उपप्रधानमन्त्री थापाले भने, ‘‘हामीले आफन्त र सम्पत्ति गुमाएका छौँ तर आशा गुमाएका छैनौँ । हामी नेपाल पुनःनिर्माण गर्ने योजना पाँच वर्षभित्र पूरा गर्नेछौँ । यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको छ ।’’

उनले पुनःनिर्माणलाई समेत सहयोग पुगोस् भनेर आगामी कात्तिकमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिए ।

संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेज भएकाले आत्मसात् गरेको उनको भनाइ छ ।

अमेरिकाको महत्वपूर्ण ‘थिङ टयाङ्क’को रुपमा लिइने उक्त फोरममा उपप्रधानमन्त्री थापाले संविधान ८२ प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको एक गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अन्तर्राष्ट्रिय समुदायको माझमा बताए ।

कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति तगर्ने अवसर पाएको स्मरण गर्दे नेपालले मबजुत नेपाल बनाउन सक्नेमा आफू विश्वस्त भएको बताए ।

उनले भने – ‘‘भूकम्प गएलगत्तै म नेपाल गएको थिएँ, त्यो बेला नेपालीले कठिन घडीलाई सहजरुपमा लिन प्रयत्न गरेका थिए ।’’

कार्यक्रमलाई इन्स्टिच्युटकी अध्यक्ष न्यान्सी लिण्डवर्गले सहजीकरण गरेकि थिइन ।