काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् ।
पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माण र नवनिर्माण हुन्छ भन्ने विश्वासका साथ नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक छ भने ।
उनले भने, “कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनःनिर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।”
नयाँ जिम्मेवारीसहित खटिने इञ्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ को रपमा काम गर्न आग्रह गर्दै उनले पुनःनिर्माण र नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकार लागि परेको बताए ।
गत वर्ष नेकपा ९एमाले० ले एक महिनासम्म दैनिक ३० हजारका दरले स्वयम्सेवक परिचालन गरेको उल्लेख गर्दै उनले अब एक इञ्जिनियरका साथ कम्तीमा १० स्वयम्सेवक खटाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘‘कुनै पनि मुलुक त्यहाँका जनता आफैँले बनाउँछु भनेपछि मात्र बन्छ, अर्कोले आएर बनाउँदैन, चीन, कोरिया, भारत त्यही बाटोमा छन् । हामी पनि विश्वलाई देखाउने गरी मुुलुक निर्माणमा लाग्नुपर्छ ।”
भूकम्प प्रभावित क्षेत्रका जनतामा भोकमरी भएमा पनि खबर र सहयोग गर्न आग्रह गर्दै उनले भने, “कोही पनि नेपाली खान नपाएर मर्नु हुँदैन । सरकार साथमा छ ।”