भूकम्प पीडितलाई सहयोग जुटाउँदै जोसेफ ग्रामीण बस्तीमा

diyopost.com
bestnp  बुधबार, बैशाख १५, २०७३ | ८:०६:३९

नुवाकोट ,१५ वैशाख । हिमाल आरोहण र पदयात्राको सौखले तीन दशकयता अस्ट्रियाका जोसेफ इन्वलर ४० पटक नेपाल आए ।

गत वर्ष ७।६ म्याग्निच्युडको गोरखा भूकम्प आउँदा साङ्ग्रिला होटलबाट आत्तिदै बाहिर निस्केका उनी वर्ष दिनको अवधिमा पाँचपटक नेपाल आइसके । कारण हो भूकम्प पीडित क्षेत्रका बासिन्दा, बाटो, हेल्थपोस्ट र विद्यालय निर्माणमा सहयोग ।

भूकम्पको वर्ष दिन पारेर नेपाल आएका उनी आउनासाथ ककनी नुवाकोट गाविसको धन्सार गाउँस्थित धन्सार बाल विकास केन्द्र भवनको उद्घाटन गरे ।

भवनमा छ वर्षमुनिका ५० बालबालिका बिहान डेढ घन्टा पढ्ने, खेल्ने गरेको शिक्षिका रेनी लामाले बताउनुभयो । बाँस र काठको भवन रु दुई लाख ६७ हजारमा बन्यो । गाउँलेले श्रमदान जुटाए । “भवनमा साना बच्चालाई अक्षर सिकाउन र पढ्ने बानी बसाउन मद्दत पुग्यो,” सयपत्री महिला समूहका अध्यक्ष दीपा लामाले बताए ।

“भूकम्प पीडितको सहयोगकै सिलसिलामा यो वर्षमा पाँचपटक नेपाल आएँ, पीडित जनता र समुदायलाई धेरथोर सघाउन पाउँदा निकै खुसी लागेको छ,” जोसेफल भने ।

केन्द्रमा किताब, झोला, खेल्ने सामग्री र रङ्गरोगनको व्यवस्था भने १३ पटक सगरमाथा चढेका पेम्वा दोर्जेले दिने बचन दिए । सगरमाथा आठ घन्टा दश मिनेट, चार दिनमा दुई र दश दिनमा तीन पटक चढेका पेम्बा कीर्तिमानी आरोही हुन् ।

भूकम्प जानासाथ जोसेफले ककनीकै निगालेमा १०० विद्यार्थी पढ्ने ब्रह्मेश्वरी निमाविमा चारकोठे अस्थायी भवन बनाउन सहयोग गरेका थिए । त्यस्तै दोभान गाउँमा ८८ विद्यार्थी पढ्ने सुन्दरीकन्या प्राविको चारकोठे भवनमा सहयोग गरे । यसपटक जासेफले ती भवन, विद्यार्थी र थप सहयोगको अवस्थाबारे गाउँमै पुगेर कुराकानी गरे ।

“अस्थायी भवनले तत्काल पठनपाठन सुरु गर्न ठूलै सहयोग पुग्यो, अब कहिले पक्का भवन बन्ला भन्ने आशामा छौँ,” सुन्दरीकन्या प्राविका प्रधानाध्यापक सोनाम लामाले बताए । ब्रह्मेश्वरीमा ६ र सुन्दरीकन्यामा रु दुई लाखको सहयोग जोसेफसहितका दाताबाट प्राप्त भएको यो कार्यको समन्वय गरिरहेका हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

“भूकम्प पीडितलाई जोसेफको सहयोग जारी छ, यसबाट स्थानीय समुदायलाई पनि राहत मिलेको छ,” अध्यक्ष लामा भन्छन् । भूकम्पले झन्डै नौ हजार नेपालीको ज्यान लियो । २२ हजार घाइते भए । आठ लाख घर भत्किए । पुरातात्विक सम्पदा ४५० सम्पदा भत्किए । रु सात खर्ब बढीको क्षति पुग्यो ।

भूकम्पपछि जोसेफले पर्वतारोहण र पदयात्रामा युरोपमा ख्याति कमाएका अस्ट्रियाका आफ्ना साथी स्टेफन केकसँग सम्पर्क गरेर सहयोग तत्काल राहत, बाटो, स्वास्थ्य चौकी, सामुदायिक भवनजस्ता कार्यमा पनि सहयोग जुटाइरहेका छन् । जसमा साथी क्रिस्टिना हर्वर पनि सहभागी छन् ।

“स्टेफनकै सहयोगमा मैले अस्ट्रियाको टिभीलाई भूकम्प गएकै दिन मानिसले भोगेका कष्टबारे प्रत्यक्ष अन्तर्वार्ता दिए, नेपालीलाई सहयोग गर्न आह्वान गरें,” जोसेफले बताए ।

अस्ट्रियाबाट आएका कपडा, टेन्ट, स्लिपिङ ब्याग, पाल, खाद्यान्न, औषधिसहितका दोलखा, रसुवा, गोर्खा, नुवाकोटजस्ता भूकम्प प्रभावित जिल्लामा बाँडिएको थियो । दोलखा रोल्वालिङमा तत्कालै हेलिकोप्टरबाट चिकित्सक र नर्स लगेर उपचार सेवा दिइयो । भत्केका बाटो मर्मत र काठका कच्ची पुल बनाउन सहयोग पु¥याइयो ।

जासेफका अनुसार करिब ६२ हजार किलोग्राम सामान किन्न दश लाख, हवाई ढुवानीमा एक लाख तथा निर्माण, यातायात र व्यवस्थापनमा एक लाख युरो लाग्यो । रोल्वालिङ र मनास्लुमा एक एक स्वास्थ्य चौकी भवन तथा रोल्वालिङमा सौर्य ऊर्जा विस्तार गर्न एक लाख युरो लाग्नेछ ।

सम्बन्धित खबर