पत्रकार क्षेत्रीको अन्त्येष्टि आज

पत्रकार क्षेत्रीको अन्त्येष्टि आज

काठमाडौँ, १७ वैशाख । गएराति निधन भएका पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको आज दिउँसो अन्त्येष्टि गरिने भएको छ ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहीबार साँझ उपचारका लागि लगिएका उनलाई ८ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनी ३३ वर्षका थिए ।

काठमाडौँ उपत्यका बाहिरबाट क्षेत्रीका पिता आउन समय लागेकाले राति पार्थिव शरीर शिक्षण अस्पताल महाराजगन्जमा राखी आज बिहान ९ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि २ घन्टा राखी अन्त्येष्टि तर्फ लगिनेछ ।

विसं २०७१ मङ्सिरमा ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएका क्षेत्री नियमित औषधि र चिकित्सकको परामर्शमा रहएका थिए । नेपाल प्रेस युनियनका सचिव रहेका क्षेत्रीले शिक्षा र रङ्गमन्च पत्रकारिता गर्नुका साथै गीत लेखनमा आफूलाई सक्रिय बनाएका थिए । स्याङ्जा स्थायी घर भएका उनले  पाल्पाबाट रेडियो पत्रकारिताको यात्रा थालनी गरेका थिए । उनी केही वर्ष उज्यालो राष्ट्रिय नेटवर्कमा आबद्ध थिए । पछिल्लो समय उनी  आफ्नै परिकल्पनाको नेपाली कलाडटकममा सम्पादक थिए ।

शल्यक्रियापछि उनलाई  गत वर्ष भारतमा पनि उपचार गरी स्वदेश फर्काइएको थियो । उनको उपचारका लागि नेपाल सरकारलगायत पत्रकारिताका संस्था र शुभेच्छुकले आर्थिक सहयोग गरेका थिए । क्षेत्रीको निधनपछि अस्पतालमा नेपाली काँग्रेसका सांसद गगन थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, लोकगायक विमलराज क्षेत्रीलगायत पत्रकार र शुभेच्छुक अस्पताल पुगेका थिए ।

क्षेत्रीका ‘धोका दिनेलाई के भनौँ र खै’, ‘लालुपाते नुग्यो भुइँतिर’, ‘उडी जाने जेट’, ‘यसपाली नि आउन पाइनँ’ ‘औँठी चिनो छ’, डाली पलायो’, ‘धानको सिरौला’ आदि लोक तथा आधुनिक गीत चर्चित छन् ।

क्षेत्रीका माता, पिता, श्रीमती र एक छोरा छन्  ।

Trending News