सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल निलम्बनमा, वडाध्यक्षसहित ८ जनाविरुद्ध मुद्धा दर्ता

दियोपोस्ट संवाददाता  

काठमाडौं । मुगुको सोरु गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत एवम् हालका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल निलम्बनमा परेका छन् । उनीसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएसँगै मल्ल निलम्बनमा परेका हुन् ।
मल्लसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौमा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचारसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गराएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा उपभोक्ता समितिका पदाधिकारी र इन्जिनियरसहितको मिलेमतोमा वडा न ७ का अन्र्तगत दाक्च–ख्याल्च सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै ८ जनाविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।जसमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब इन्जिनियर बिक्रम बुढाले सम्झौता विपरित सडक निर्माण कार्यको गलत विवरण टिपाई बढि भुक्तानी लिएका थिए ।

उक्त सडक निर्माण श्रम समितिका अध्यक्ष हस्त बहादुर गुरुङ बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाले गलत कार्यको गलत मुल्यांकन गराएका थिए भने तत्कालिन गाउँ कार्यपालिका सदस्य एवम् अनुगमन समिति संयोजक दलबीर सार्की र वडा न ७ का तत्कालिन वडाअध्यक्ष राजेन्द्र बुमीले उक्त कार्यको गलत अनुगमन प्रतिवेदन दिन लगाएका थिए । जसअनुसार ८ जनाको मिलेमतोमा १३ लाख बढिको भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियार आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्र्तगत कैद र बिगो जरिवानाको सजाय मागदाबी गरिएको अख्तियार आयोगले जनाएको छ ।
हाल शिक्षा प्रमुख रहेका मल्ललाई भने तत्काल स्वतः निलम्बनमा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।

‘शिक्षा शाखा प्रमुख मल्ललाई भने स्वतः निलम्बनमा परेका छन्, निलम्बनको लागि आजै पत्र पठाइसकेका छौ’ दियो पोष्टसँग उनले भने, ‘८ जना विरुद्ध विशेष अदालतमा मुद्धा परिसकेको छ । कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’
निलम्बनमा परेका मल्ल पटकपटक विवादमा आउने गरेका व्यक्ति हुन् ।

यसअघि मल्लले सेटिङमार्फत कीर्ते गरी दिदीको परिक्षा भाइले दिएर लेखापाल नियुक्त गराएको आरोप लागेको थियो ।

‘दिदिको परिक्षा भाई’ले दिएर मुगुमा लेखापाल नियुक्ती : गाउँपालिकाका शिक्षा  प्रमुख नै संलग्न !

सिफारिस