काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुस्थित नेकपा -(एमाले)को पुरानो कार्यालयमा रहेको सालिकमा माल्यार्पण गरेका छन् ।
विसं २०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । उहाँहरुको निधनको दिनलाई एमालेले देशभर विभिन्न कार्यक्रमसहित स्मरण गर्दै आएको छ ।
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ दूरदृष्टिपूर्ण सिद्धान्त भएको र अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनका लागि सामयिक रहेको मुलुकको समृद्धिका लागि त्यसलाई पछ्याउँदै आफूहरु अघि बढेको बताए ।
उनले यही जेठ ७ गतेदेखि भूकम्पपछिको पुनःनिर्माणका लागि स्वयम्सेवक परिचालन प्रारम्भ गर्ने भएकाले त्यसमा सामेल हुन आन्दोलनकारीलाई पनि आह्वान गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, पार्टीका उपाध्यक्ष वामदेव गौतमलगायतले मदन–आश्रितप्रति श्रद्धाञ्जलि दिएका थिए।