‘मदन भण्डारीको हत्यारालाई कारबाही गरेरै छाड्छौं’

दियो पोस्ट  

 

रुकुम, ४ जेठ । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न खुट्टा कमाउन नहुने बताएकि छिन् ।

नीति तथा कार्यक्रम जनमुखी भएको भन्दै यसलाई कार्यान्वयन गर्नु चुनौती रहेको उनको  धारणा थियो । कार्यक्रम महत्वकांक्षी भयो भनेर प्रतिपक्षले विरोध गर्नु उनीहरुको धर्म भएको भन्दै पूर्व उद्योगमन्त्री समेत रहेएकी शाक्यले नीति तथा कार्यक्रम संसद्बाट पारित भइसकेकाले अब कार्यान्वयन गर्नका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन ।

यस्तै, नेत्री शाक्यले मदन भण्डारी र जीवराज आश्रितको हत्यारालाई पत्ता लगाएर कारबाही गरेरै छोडिने बताउनुभयो । मदन–आश्रितको सवारी चालक अमर लामाको पनि मृत्यु भएकाले दोषी पत्ता लाग्न अप्ठ्यारो भएको उनको भनाइ थियो ।

नेकपा (एमाले) रुकुमले मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा आज बिहान आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  जनताको बहुदलीय जनवाद अहिले पनि सही र सान्दर्भिक सावित भएकाले पनि नेकपा (एमाले)को लोकप्रियता बढ्दै गएको बताइन् ।

नयाँ संविधान कार्यान्वयन गर्नका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्ने एमाले नेत्री शाक्यको जोड रहेको थियो ।

सम्बन्धित खबर