राष्ट्र निर्माणमा सूचना र प्रविधि जोड्नुपर्छ– मन्त्री राई

दियो पोस्ट  

 

काठमाडौँ, ५ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अब राष्ट्र निर्माण तथा आर्थिक विकासमा सूचना र प्रविधिलाई जोड्नुपर्ने बताए ।

नयाँ शक्ति अनलाइनको आज यहाँ शुभारम्भ गर्दै मन्त्री राईले मुलुकमा भइरहेको यथार्थ घटना तथा गतिविधिलाई सञ्चार क्षेत्रले स्वतन्त्र तथा निष्पक्ष भई प्रवाह गर्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले संविधान कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखेर राजनीतिक दलसँग समन्वय र सहकार्यको प्रयत्न गरिरहेको बताउँदै मन्त्री राईले मधेसी गठबन्धनले अहिले सुरु गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताए ।

सरकारले संविधान बोकेर जनताको अगाडि प्रत्यक्ष बसेर आन्दोलनकारी मोर्चासँग छलफल गर्न चाहेको बताउँदै उहाँले भने, “ संविधानबाट कुन अधिकार मधेसी जनताले पाए, कुन चाँही पाउन बाँकी छ, त्यसमा वार्ता गर्न सरकार तयार रहेको र आन्दोलनकारीलाई इमान्दार भई वार्तामा आउन आग्रह गर्दछु ।”

मन्त्री राईले सरकारले पुनःनिर्माणका लागि यही जेठ ७ गतेदेखि स्वयम्सेवक परिचालन सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आन्दोलनकारीलाई आग्रह गरे।

सम्बन्धित खबर