काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही तीन गुणाले कमी आएको छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्घन गर्नेलाई जेठ १ गतेदेखि लागू हुने गरी शुल्क बढाएपछि ट्राफिक कारबाहीमा कमी आएको हो । जेठ १ गतेभन्दा पहिले उपत्यकामा प्रतिदिन एक हजार ६०० देखि दुई हजार ३०० सम्म कारबाही पर्ने गरेकोमा जेठ १ गतेपछि दैनिक ४०० देखि ७०० सम्म पर्ने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उलङ्घनको रकम बढाएपछि कारबाहीको सङ्ख्यामा कमी आएको बताए। उनले भने, “पछिल्लो समय रकम बढाएपछि चालकले ट्राफिक नियमको पालना गरेका छन् त्यसैले समेत कमी आएको हो ।”
गत असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उलङ्घन गर्नेलाई शुल्क बढाउने निर्णय गरेअनुसार जेठ १ गतेबाट ट्राफिक जरिवाना वृद्धि भएको थियो ।
शान्ति समितिमा उजुरी दिने बढे
फलेवास ९पर्वत । स्थानीय शान्ति समिति पर्वतमा द्वन्द्वकालका घटनाको उजुरी दिनेको सङ्ख्या बढेको छ । दश वर्षे सशस्त्र जनयुद्धका बेला राज्यपक्ष र तत्कालीन विद्रोही पक्षबाट पीडितले स्थानीय शान्ति समिति आई उजुरी दिन थालेका हुन् ।
सोमबारसम्म ८६ जनाले उजुरी दिएका छन् ।जसमध्ये १० वटा बेपत्ता छानबिन आयोग र ७६ वटा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेका हुन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाका पीडितलाई उजुरी दिन आह्वान गरेपछि पर्वतमा रहेका द्वन्द्वपीडितले उजुरी दिने क्रम बढेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।
वैशाख ३ गतेदेखि उजुरी दर्ता गर्न सुरु गरिएको थियो । सुवेदीले भने –“अन्तिम म्यादसम्म जिल्लामा रहेका अधिकांश पीडित उजुरीका आइपुग्ने अपेक्षा गरेका छौँ ।” पर्वतमा माओवादी द्वन्द्वकालमा सुरक्षाकर्मी, माओवादी र अन्य पार्टी आबद्ध कार्यकर्ता गरी ९१ जनाको ज्यान गएको थियो । त्यसैगरी ४१ जना घाइते, १०५ जना विस्थापित, ६९ परिवारको सम्पत्ति लुटिएको तथा क्षति भएको स्थानीय शान्ति समितिले जनाएको थियो । रासस