इलाम, २१ जेठ । इलाम नगरपालिका–२ नवीनचोकमा अस्थायी रूपमा बस्दै आउनुभएकी स्व जसमाया लिङदमको परिवारलाई किराँत याक्थुङ चुम्लुङ याक्थुङ फासिङ सजुम, इलामले नगद १५ हजार ३४५ रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बिहीबार फासिङ सजुमले मृतकका छोरा सुरेन लिङदमलाई सो रकम हस्तान्तरण गरेको हो । जिल्लाको साङरुम्बा निवासी ७३ वर्षीय जसमाया लिङदमको गत जेष्ठ ९ गते मृत्यु भएको थियो ।
त्यसैगरी, वैशाख ७ गते मृत्यु भएकी स्व मनमाया आङ्गवुहाङको परिवारलाई पनि फासिङ सजुमले नगद १३ हजार ७०० रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको सजुम इलामका अध्यक्ष बखतबहादुर आङ्गदेम्बेले जानकारी दिए।
लिम्बू समुदायको मृत्यु संस्कारको मौलिक परम्परा तथा संस्कृतिलाई युवापुस्ताले बुझ्न र सिक्न आवश्यक रहेकोले इलाम नगरपालिकामा स्थायी र अस्थायी रूपमा बसोबास गर्ने लिम्बू समुदायबाट सङ्कलित कोषमार्फत विगत छ वर्षदेखि निरन्तर रूपमा मृतकका परिवारलाई आर्थिक सहयोग फासिङमार्फत गरिँदै आएको फासिङका अध्यक्ष आङदेम्बेको भनाइ छ ।
विस २०६६ देखि हालसम्म ३१ महिला, ३६ पुरुष र दुई बालबालिकाका गरी जम्मा ६९ जना मृतकका परिवारलाई रू आठ लाख ९७ हजार आर्थिक सहयोग उपलब्ध गराई सकिएको सजुमकी कोषाध्यक्ष कौशिला लिम्बूले जानकारी गराए ।
नगर क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायका मृतकलाई खोला तथा डाँडामा लगी जलाउने र कतिपयले स्थानीय समाधि स्थलमा किराँत परम्पराअनुसार दाहसंस्कार गर्ने चलन रहिआएकाले हाल याक्थुङ फासिङ सजुमको पहलमा सामूहिक समाधिस्थलको खोजी भइरहेको बताइएको छ । ––––––
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki