सिजन यार्सागुम्बाको – डोल्पाका विभिन्न गाउँ शून्य

दियो पोस्ट  

डोल्पा, २२ जेठ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली पाटन गएपछि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् ।

जेठ १० गते औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि मध्य डोल्पाका त्रिपुराकोट गाविसका करेलिकाँडा, रसी, मद्धु, रुम त्यस्तै माझफाल गाविसका थरगाँउ, ताली, लाहारा हुँदै माथिल्लो डोल्पाका धो, तिन्जे, छार्का, मुकोट तथा तल्लो डोल्पाका कालिका, शर्मी, नर्कु, रिमी, काइगँउलगायतका गाविस सुनसान भएका छन् ।

यतिखेर गाउँघरतिर विभिन्न कार्यक्रम लिएर जाने हो भने मान्छे भेटाउनै गाह्रो पर्छ, शान्ति समिति डोल्पाका संयोजक देवसिंह कठायतले बताए ।

यार्सागुम्बा सिजनले छिमेकी जिल्ला जाजरकोट, रुकुम, जुम्लाका धेरैजसो गाविस शून्य भएका छन् भने विद्यालय पनि बन्द भएका छन् ।

डोल्पाली तथा छिमेकी जिल्लावासीको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले एक महिनाको अस्थायी बासको लागि बन्दोबस्तीका सामान र पशुचौपायसहित गाउँ घरनै शून्य पारेर पाटनतिर लाग्ने गरेको त्रिपुराकोटका स्थानीयवासीले बताए ।
यार्सा टिप्ने हतारोले तल्लो डोल्पाका अधिकांश सर्वसाधारणले बर्खेबाली नै नलगाएर यार्सापाटन जाने गरेको स्थानियले जनाएका छन् । जोखिमपूर्ण यार्सागुम्बा टिपाइले कतिपयको भाग्य चम्किने तथा केहीको मृत्युको कारण समेत बन्ने गरेको छ ।

सशक्त डोल्पाली सबै यार्सागुम्बा टिप्न पाटन गएपछि अशक्त, अपाङ्ग बूढाबुढी मात्रै गाउँघरमा देख्न सकिन्छ ।

सम्बन्धित खबर