काठमाडौ, २२ जेठ । उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले आफू पैसामा नविक्ने ब्यक्ति भएकोले आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेकोले सहकारी सञ्चालकहरु आन्दोलनमा उत्रिएको दाबी गरेका छन ।
‘अहिलेका सहकारी सँस्थाहरु नामका मात्रै सहकारी छन, काममा चाँही बैंकिङ्ग कारोबार गरेर चर्को ब्याज खाने सुदखोरको काम गरिरहेका छन । चित्रबहादुर केसी पैसामा नबिक्ने भएकोले उनीहरु आफ्नो स्वार्थ अनुसार काम गर्न नसकेपछि आत्तिएका छन,’ राजधानीमा शनिबार आयोजित कार्यक्रममा केसीले भने ।
उपप्रधानमन्त्री केसीले सहकारी बोर्ड, विज्ञ र कर्मचारहिरुको छलफलको आधारमा ऐन बनाएर अघि बढाईएको भन्दै अब कसैको विरोधको भरमा यो प्रक्रिया नरोकिने स्पष्ट पारे ।
उनले सहकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त, मुल्य मान्यता अनुसार नै नयाँ ऐन ल्याउन लागिएको जानकारी दिदै नयाँ ऐनमा २०४८ सालको ऐनमा भएका राम्रा कुराहरुलाई पनि समेटिएको बताए ।
उपप्रधानमन्त्री केसीले सहकारीबाट नेपाली जनताका १३ अर्ब रुपैया ठगि भएपनि त्यसलाई एक सयदेखि १५० रुपैयासम्म मात्रै जरिवाना हुने गरेकोकोले नयाँ ऐनमा कारवाही प्रक्रियालाई कडा पारिएको भन्दै सहकारी सञ्चालकहरुले दावी गरे जस्तो कालो ऐन नभई समाजवादी अर्थब्यवस्थाको आधारको रुपमा रहेको सहकारीलाई मर्यादित र जिम्मेवार बनाउने गरी ल्याईने दावी गरे । उनले भने,‘ ऐन अगाडि बढ्छ, कसैले रोकेर रोकिदैन ।’
उनले बारम्बार सरकरा परिवर्तन भई रहँदा मुलुकमा अस्थिरता उत्पन्न भएको बताउँदै सरकार बनाउने र भत्काउने कामले मात्रै मुलुकको राम्रो नहुने स्पष्ट पारे ।
केसीले कुनै पनि सरकारलाई राम्रो वा नराम्रो काम गर्न केही समय चाहिने भन्दै अहिले नै सरकार परिवर्तनको कुराले मुलुकमा अस्थिरता उत्पन्न भई विकासको काम अवरुद्ध हुने तर्फ सचेत गराए ।
उनले भने,‘ राजनीतिज्ञले राजनीति जनता र राष्ट्रको गर्ने हो अहिलेसम्म ब्यक्तिगत स्वार्थ पुरा गर्न गरेकोले मुलुकको यस्तो अवस्था आएको हो ।’
आफू गरिबी निवारण मन्त्री भएपनि गरिबी निवारण कोष प्रधानमन्त्रीको मातहतमा रहेकोले गरिबी निवारणको काम गर्न नसकिएको भन्दै मन्त्रालयमा गरिबी निवारणको बोर्ड झुण्ड्याएको मात्रै छ, पैसा अन्त राखेर मन्त्रीले काम गर्न नसक्ने तर्क गरे ।