काठमाडौं । काठमाडौं रिङरोडसँगै जोडिएको बसुन्धरा हुँदै धापासीको हाइटतिर जाँदा हामी दाहाल गौंडामा पुगिन्छ । जहाँ सानो घण्टाघरजस्तो बनाइएको एउटा टावर छ । यस टावरमा नगरपालिकाले डिजिटल बोर्डमार्फत सार्वजनिक सूचना र समय देखाइरहेको हुन्छ । दाहाल गौंडाबाट देब्रेतिर लाग्दा ग्रिनल्याण्ड स्कूल र एक देशकै महँगो ग्राण्डी ईन्टरनेशल अस्पताल पुगिन्छ भने सय मिटर दायाँतिर जाँदा सडकमै टाँसिएको प्राइम लोकेशनमा रहेको ९४ आना जग्गा देशको पहुँचवाला दाहाल परिवारको भएको स्थानीयले बताए ।
यस जग्गाको तीन सय मिटर उत्तरमा जनयुद्धका वेपत्ता योद्धा मिलन नेपालीको घर थियो । जनयुद्धका क्रममा यो परिवार विस्थापित भयो । प्रारम्भमा मिलन नेपाली दुग्ध विकास संस्थानमा एक अधिकृत थिए । उनीहरु उच्च मध्यम परिवारको सुखी जीवन बिताइरहेका थिए । जसले काम र घर छोडेर जनयुद्धमा भाग लिए । आज पनि मिलन नेपालीको अवस्था अज्ञात छ र उनी राज्यबाट बेपत्ता छन् । उनका पिता दिलबहादुर खबास तत्कालीन मोटो मशालका केन्द्रीय नेता थिए, जसको निधन भइसकेको छ ।
जनयुद्ध र राजनीतिक आन्दोलनमा समर्पण भएको यो परिवारको आर्थिक अवस्था दिनप्रतिदिन कठिन हुँदै गयो । त्यो पुख्र्याैली घरजग्गामा अंशबण्डा गरेर परिवारका सदस्यहरूले उक्त जग्गाबाट विस्थापित हुनुप¥यो । जनयुद्ध पूर्व र त्यसपछि पनि लामो समय रहेको मिलन नेपालीको त्यो परिवारको घर–जग्गा अन्य व्यक्तिहरूले किनिसकेका छन् ।
जनयुद्धका नाममा राष्टियसभाका अध्यक्ष बनेका नारायण दाहालका छोरा लगायतका व्यक्तिहरूले यहाँ ९४ आना जग्गा किनेर कथित समृद्धि देखाएको स्थानीय व्यक्तिहरूले बताएका छन् । विडम्बनाको कुरा, माओवादी जनयुद्धको समयमा नारायण दाहालको आर्थिक हैसियत मिलन नेपालीहरुको भन्दा कमजोर थियो । यो परिवारको जीवन कष्टकर थियो । तर, अहिले त्यही जनयुद्धको प्रभावबाट लाभ उठाएर नवधनाढ्य बनेका छन् ।
यो जग्गासँग जोडेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यसबारे सोध्दा उक्त जग्गा नयाँ पत्रिका दैनिकका मालिक पत्रकार कृष्णज्वाला देवकोटाको रहेको ठोकुवा गरे । तपाईंकै छोरा समिर दाहाल पनि यसमा संलग्न छन् र यसमा तपाईंलाई नै स्थानीय जनताले जोडेका छन् भनेर सोध्दा ‘होइन, होइन’ भनेर पञ्छिए ।
तपाईंको जेठो छोरा समिर दाहालको नाममा रहेको जग्गा तपाईंको हैन त भनेर भनेर सोध्दा नारायण दाहालले बडो अस्पष्ट भाषामा भने, “छोरा १५ वर्षदेखि के गर्दैछ धेरै थाहा छैन, थोरै जग्गा किनेको त हुनसक्छ । यसको मूल हिस्सा भने पत्रकार कृष्णज्वाला देवकोटाको नै हो । उनीहरुको समुहमा कोको छन् मलाई थाहा छैन ।”
यी सबै आर्थिक अपारदर्शी क्रियाकलाप प्रत्यक्ष देखेका यहाँका स्थानीय पुराना माओवादीहरू धेरैजसोले पार्टी छाडेका छन् । कतिपय निस्क्रिय बनेका छन् । २०६४ सालमा मत दिनेहरुलाई समेत खोज्ने पार्टी अध्यक्ष प्रचण्डको भनाइलाई उनकै आफन्तका नाममा भएका यस्ता अपारदर्शी कार्यले सघाउ पु¥याउला ? नारायण दाहालले आफूलाई प्रचण्डको भाइका रुपमा सबैतिर चिनाउँछन् ।
अहिले यहाँका स्थानीयहरूको प्रश्न छ, ‘सम्पत्ति कमाउनु आफैंमा नराम्रो होइन तर यो सम्पत्ति कस्तो स्रोतबाट आएको हो ? यहींका स्थानीय लोकप्रिय युवा नेता मिलन नेपालीहरु जस्ता हजारौंको त्याग र बलिदानबाट निर्मित माओवादी आन्दोलनलाई आज बेचिएको उनीहरूको भनाइ छ । माओवादी आन्दोलन र उनको नाम बेचेकाहरुलाई नजिक राखेर प्रचण्डले भने जस्तो २०६४ सालका मतदाता त के बाहिरिएका र निस्क्रिय रहेका पार्टीका धेरै नेता तथा कार्यकर्ताहरु समेत पार्टीमा फर्काउन सक्दैनन् र पार्टीभित्र अहिले पनि क्रियाशील निस्ठा र आदर्श बोकेका इमान्दार नेता तथा कार्यकर्ताहरुलाई समेत २०८४ को चुनावसम्म जोगाउन सक्दैनन् ।
धापासी हाइटको यो जग्गा र स्थानीय जनताको प्रतिक्रियाले मात्र पनि माओवादी आन्दोलनको वास्तविकता र यसको सामाजिक प्रभावलाई केही हदसम्म उजागर गर्दछ । जनयुद्धका वेपत्ता योद्धा र विस्थापित परिवारका पीडासँग जोडिएका सवालहरू देशैभरि उठिरहेका छन् । माओवादी जनयुद्धको बलमा राजनीतिक र आर्थिक शक्ति प्राप्त गर्नेहरूले संघर्षको वास्तविक मूल्य र पीडा बुझ्न किन आवश्यक ठानेनन् ? प्रचण्ड, उनको परिवार र उनको निकट जोडिएका पत्रकार देवकोटा लगायत पात्रहरुको यो अपारदर्शी आर्थिक कमाइको जवाफ प्रचण्ड आफैंले अब दिनु पर्दैन ?
यसरी जनयुद्धको महिमा गाउँदै धन आर्जन गर्नेहरुको पार्टीमा बोलवाला छ । अहिले उनीहरु राजनीतिक र आर्थिक शक्तिका नयाँ मालिक बनेका छन्, जसले संघर्षको वास्तविक मूल्य र पीडाको बुझाइलाई उपहास गरिरहेका छन् ।
माओवादी भ्रष्टिकरण श्रृङखला : ‘प्रचण्डको भतिजो’का नाममा कहाँबाट आयो करोडौँको जग्गा ?