निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी, डिएनए फेरि जाँच्न आयोगको निर्देशन !

दियो पोस्ट  

काठमाडौं, असोज २२ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ। सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घट्नासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्य्राइँ भएको निकष्र्ष निकालेको छ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना अनुसन्धानपछि तयार पारेको छानबिन प्रतिवेदनमा निर्मलाको शव बरामद भएको स्थान, उनको साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र सामग्रीहरु प्राप्त भएको स्थान तथा आसपास क्षेत्रका अपराधी पहिचानका लागि सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुर प्रयोग नभएको, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख ९एसपी० ले शव फेला परेको स्थान वरिपरि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था नगरेको उल्लेख छ।

गृहमन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको सो प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशनी र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ। बम दिदिबहिनीको बयान र तथ्य फरकफरक देखिएको भन्दै प्रतिवेदनमा उनीहरुको भूमिकालाई शंकास्पद भनिएको छ।

डिएनए फेरि जाँच्न आयोगको निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिनक्रममा गरिएको डिएनए परीक्षण रिपोर्टमा शंका गर्दै फेरि जाँच गर्न सरकारलाई निर्देशन दिएको छ। छानबिनक्रममा स्थानीय दिलीप सिंह विष्ट, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण, अर्का स्थानीय आयुष विष्ट र चक्र बडुको डिएनए परीक्षण गरिएको थियो। सबैको डिएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

आयोगले डिएनए परीक्षण रिपोर्टमा शंका गर्दै ल्याबको अवस्थादेखि प्रयोग गरिएका औजारसमेतको पुनः जाँच गर्न निर्देशन गरेको हो। ‘शंकास्पद व्यक्तिहरुको डिएनए परीक्षण गरिएको भनिए पनि ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, भेजिनल स्वाब सुरक्षा र वीर्य परीक्षण गर्न पर्याप्त तत्व थियो वा थिएन सोको समेत पुनः विश्लेषण तथा जाँच गरी एकिन गर्न’ सरकारलाई भनिएको छ।

आयोगले घटना अनुसन्धानमा प्रहरीका विभिन्न कमीकमजोरी औंल्याउँदै दोषी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नौबुँदे निर्देशनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ। प्रहरीले अनुसन्धानको जिम्मेवारी नलिएका कारण दोषी पत्ता लगाउन ढिलाइ भइरहेको आयोगले जनाएको छ।

घटना भइकेपछि प्रहरीले अनुसन्धानलाई प्राथमिकता नदिएका कारण, सूक्ष्म वैज्ञानिक परीक्षण नहुँदा पीडित परिवार र आमनागरिकमा निराशा बढेको आयोगको ठहर छ। निर्मला हराएकै दिन आमाले रोशनी बम र बविताको घरमा खानतलासी गर्न प्रहरीलाई अनुरोध गर्दा पनि प्रहरीले इन्कार गर्नुलाई आयोगले शंकास्पद ढंगले हेरेको छ।

आयोगले रोशनी र बवितालाई समेत शंकाको घेरामा राखी अनुसन्धान गर्न निर्देशन गरेको छ। निर्मलाको शव उखुबारीमा फेला परेपछि त्यहाँ रहेका प्रमाणको संरक्षण प्रहरीले उचित ढंगले गर्न नसकेको आयोगको निष्कर्ष छ। प्रमाण संरक्षण र संकलन गर्नुको सट्टा नष्ट गर्नु र अपराधी पत्ता लगाउन प्रशिक्षित कुकुर परिचालन नगर्नुलाई पनि आयोगले कमजोरी मानेको छ ।

आयोगले घटनाको विरोधमा भएको प्रदर्शनमा सन्नी खुनामाथि गोली हान्ने प्रहरीको पहिचान गरी कारबाही गर्न पनि निर्देशन गरेको छ। गोली लागेर खुनाको मृत्यु भएको थियो। अनुसन्धानमा बाधा पर्नेगरी कसैले अनावश्यक दबाब दिन नहुनेतर्फ पनि आयोगले सतर्क गराएको छ।

साउन १० मा हराएकी कञ्चनपुर उल्टाखामकी निर्मलाको ११ गते शव फेला परेको थियो। यस घटनाका आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीबाट अनुगमन र अनुसन्धान भएको थियो। अनुगमनबाट प्राप्त प्रारभ्मिक प्रतिवेदन अनुसार सरकारलाई निर्देशन दिएको आयोगका सचिव वेद भट्टराईले बताए। सोमबारको नागरिक दैनिकमा खबर छ ।