कार्तिक ६ जनकपुर । विखण्डन तथा विघटन गरेर मधेशी जनता र पहाडी जनताहरुलाई बरबाद पार्ने काम साम्राज्यवादी प्रतिक्रियावादी डाँकाहरुको मात्र हुन सक्ने नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका छन् ।
जनकपुरमा अयोजना गरिएको शुभकामाना आदानप्रदान तथा प्रदेश नम्बर २ पार्टी कार्यलयको समुद्घाटन कार्यक्रममा बोल्दै मंगलबार दहालले राष्ट्रिय एकताले मात्र मधेशी जनताको विकास, सम्मान, पहिचान तथा अधिकार स्थापना हुन सक्ने बताए ।
उनले भने, ‘विखण्डन विघटन गरेर मधेशी जनता र पहाडी जनताहरुलाई बरबाद पार्ने काम साम्राज्यवादी प्रतिक्रियावादी डाँकाहरुको मात्र हुन सक्छ मधेशी जनताको मित्रहरुको हुन सक्दैन ।’
आफूले मधेशी जनता लगाएत देशका सम्पूर्ण उत्पीडित जनताको लागि लडेको लडाइको प्रतिनिधित्व गरेकोे सम्झँदै उनले बताए, ‘उपेन्द्र यादव, प्रधानमन्त्री केपी वली, लालबाबु राउत तथा म भएर संविधान संशोधन बारेमा एउटा सहमतिमा हस्ताक्षर गरेका छौँ । उपयुक्त समयमा त्यो संविधान संशोधन गरेर जनतालाई हक दिलाउने म प्रतिबद्धता गर्छु ।’
प्रदेश नम्बर २ को विकास निर्माणका काममा आफू सधैँ सकारात्मक रहेको बताउँदै उनले खाने पानीको समस्या समाधान गर्नको लागि एउटा खानेपानी योजना तथा सिचार्इँको सुविधाको निम्ति योजना अघि बढाएको बताए ।
जनकपुरदेखि सिमरासम्म रेल, निजगढ काठमाडौँ फास्ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले २ नम्बर प्रदेशमा नयाँ आर्थिक क्रान्ति ल्याउने आफ्नो विश्वास रहेको उनले बताए ।
प्रदेश नम्बर २ मा बनेको प्रहरी ऐनको कुरा राष्ट्रिय चासोको विषय बनेको तथा यसमा आफ्नो असन्तुष्टि रहेको बताउँदै उनले भने, ‘संविधानको व्यवस्थाअनुसार पहिला संघिय ऐन बनाउने तथा त्यसका आधारमा प्रदेशले आफूअनुसार ऐन बनाउने रहेको छ ।
विभिन्न कारणले संघीय ऐन बनाउन ढिलो भयो भन्दैमा बाटोमा दुर्घटना हुने गरि ओभरटेक गरेर २ नम्बर प्रदेशले प्रहरी ऐन बनाउन हुँदैन ।’
सिंहदरवारको अधिकार गाउँगाउँमा लगिन्छ भनेर आफू नै लागेको बताउँदै उनले भने, ‘ सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउन म अझै लाग्दै छु । हामीले भनेको सम्पूर्ण कुरा विस्तारै हुँदै छ तर दुर्घटना हुने गरि अगाडि नबन्न सम्पूर्ण मधेशी जनता तथा मुख्यमन्त्रीमा आह्वान गर्दछु ।’
साथै उनले आउँदो १ वर्षभित्र २ नं. प्रदेशकोे विकासले गति लिएर नेपाल अझै अघि बढ्ने बताउँदै प्रदेश नं. २ का जनतालाई अतिवाद तथा विखण्डको पछि नलाग्न आह्वान गरे ।