काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा भव्य चियापान समारोहको आयोजना गर्यो । सत्तारुढ दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भाइरल ज्वरोका कारण कार्यक्रममा उपस्थित नभएपनि अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अन्य बरिष्ठ नेताहरु उपस्थित थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका अन्य नेताहरु समेत उपस्थित थिए ।
५० हजार पाहुनालाई निमन्त्रण गरिएको चियापान कार्यक्रममा आएजति कार्यकर्ता व्यवस्थापन गर्न स्वयंसेवकलाई हम्मे हम्मे परेको थियो ।
कार्यक्रम स्थल साँघुरो हुनाले उपस्थित भएका करिब २० हजार सहभागीलाई व्यवस्थापन गर्नु चुनौती नै थियो ।
शिर्ष नेताहरुलाई कुर्सी र मञ्चमा राखिएपनि अन्य कार्यकर्ताको लागि भने कुर्सी त के बस्ने ठाउँ समेत थिएन ।
कार्यक्रम आयोजकले कार्यक्रमका सहभागीहरुका लागि केरा, लड्डु र निम्की जस्ता खाने कुराको व्यवस्था गरेका थिए ।
अस्थायी रुपमा निर्माण गरिएको कार्यक्रम स्थलमा शौचालयको अभावले भने सहभागीहरु हैरान भएका थिए । भृकृटिमण्डपमा रहेको शौचालयमा समेत तालाबन्दी गरिएको देखेपछि कार्यकर्ताहरु खुल्ला ठाउँमा पिसाब गरिरहेका देखिन्थे ।