काठमाडौं, कार्तिक ११ । पार्टी एकीकरण गरेपछि पहिलो पटक नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम अस्तव्यस्त देखियो । चियापान कार्यक्रममा ५० हजारलाई निमन्त्रणा गरेको नेकपाले व्यवस्थापनको काममा भनै खासै ध्यान नदिदा चार घण्टासम्म कार्यकर्ताहरु लाइन बस्न बाँध्य भए ।
भृकुटीमण्डको बगैचामा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताहरुले ढुक्क भएर उभिन समेत पाएनन् । राजधानी काठमाडौंमा खुल्ला क्षेत्र नभएपछि नेकपाले भृकुटीमण्डको बैगैचामा चियापान गर्ने निर्णय गरेको थियो ।
हजारौंको संख्यामा निम्ता दिएर साँघुरो स्थानमा कार्यक्रम आयोजना गर्दा दिनभरी कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रवेश गर्न पसिना काढेर लाइन बसेका थिए ।
अस्तव्यस्त व्यवस्थापन
चियापान कार्यक्रम गर्न नेकपाले स्वयमसेवक खटाएको थियो । तर साँघुरो ठाउँ भएको कारण स्वयसेवक चाहेर मात्र व्यवस्थापन गर्न सक्ने कुरा पनि भएन । साँघुरो ठाउँमा उभिन त गाह्रो थियो नै । बर्षौपछि भेटिएका साथी संगीहरुले समेत राम्रोेसँग कुरा गर्न समेत पाएका थिएनन् । खुल्ला चौर नहुँदा प्रवेश गर्न नै घण्टौ लाइन बस्नु पर्दा कार्यकर्तामा आक्रोश देखिन्थ्यो ।
कार्यक्रमको आयोजना गरेपछि व्यवस्थापन गर्ने जिम्मेवारी पनि पार्टीको नै हो ।तर साँघुरो ठाउँमा कार्यक्रम आयोजना गरेको कारण तिम्तालुले राम्रोसँग नास्ता समेत खान पाएका थिएनन् ।
ओली बिरामी पर्दा भृकुटीमण्डमा निराशा
चियापान कार्यक्रममा हजारौको नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिएको चियापान कार्यक्रममा खचाखत नेता तथा कार्यकर्ताहरु भरिएका थिए । प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी ओली दिउसो तीन बजे कार्यक्रमस्थलमा आउने कार्यक्रम सार्वजनिक गरिएको थियो ।
नेता तथा कार्यकर्ताहरु पार्टी अध्यक्ष ओलीको प्रतिक्षामा बसेका थिए । अध्यक्ष ओली प्रतिक्षामा बसेका कार्यकर्ताले भाषण सुनेर मात्र घर जाने तयारी गरेका थिए । दोस्रो चरणमा विशिष्ट व्यक्ति र कुटनीतिक नियोगका नेपालस्थित प्रमुखहरुलाई स्वागत गर्नको लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वागत गरेका थिए ।
कार्यक्रममा ओली नआउने खबर प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी गराएका थिए । प्रधानमन्त्रीको भाषणा सुन्न उत्साहित भएर बसेका कार्यकर्ताहरु नआउने खबर सार्वजनिक भएपछि निराश हुँदै बाहिरिएका थिए ।
कालो चस्मामा प्रचण्ड
पार्टी एकतापछि पहिलो पटक आयोजना गरिएको कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड निकै हसिलो अनुहारमा प्रस्तुत भएका थिए । चियापान कार्यक्रमलाई सम्बोधन गरेका प्रचण्डले चियापान कार्यक्रममा आउनेहरुलाई स्वागत समेत गरेका थिए । कार्यक्रममा प्रचण्ड कालो चस्मामा प्रस्तुत भएका थिए ।
भद्रगोल कहिले टुंगो लाग्छ ?
पार्टी एकीकरण भएको चार महिना भन्दा बढी समय वितिसकेको छ । यस अवधिमा नेकपाले ४४१ ज्ना केन्द्रीय सदस्य सात प्रदेशको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव बाहेक प्रदेश कमिटी, जिल्ला कमिटी लगायतको जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाउन सकेको छ । चियापान कार्यक्रममा नेता र कार्यकर्ताबीच भेट हुने वित्तिकै यही विषयले पहिलो प्राथमिकता पायो ।
कार्यकर्तालाई भेट हुने वित्तिकै पहिलो प्रश्नको रुपमा हैन लाज नै हुन लाग्यो, जिम्मेवारी केही छैन हैन यो एकता प्रक्रिया कहिले टुंगो लाग्छ । चियापान कार्यक्रममा धेरैले यही प्रश्नलाई नै मुख्य रुपमा उठाएका थिए ।
तीन महिनाभित्र पार्टीको सबै तहको एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेको नेकपा पछिल्लो समयमा आन्तरिक विवादमा फसेको कारण एकता प्रक्रियालाई टुंगो लगाउन सकेको छैन् । पार्टी एकताको विषयलाई लिएर कार्यक्रमस्थलमा कार्यकर्ताहरुको बीचमा भनाभन नै भएको थियो ।
भट्टराई, वैद्य र केसीको यसकारण बहिष्कार
नेकपाले चियापानमा ५० हजारलाई निमन्त्रण पठाएको थियो । भृकुटीमण्डमा दिनभर बाक्लो उपस्थित देखिन्थ्यो । नेकपाले वीस हजारको लागि नास्ता तयार गरेको थियो ।
नेकपाले कार्यक्रममा वीसदेखि तीन हजारको हाराहारीमा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको दावी गरेको छ । कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरा भट्टराई, नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु चियापान कार्यक्रममा सहभागी भएनन् । भट्टराईले घोषित रुपमा सहभागी नहुने बताएका थिए ।
थप्पड काण्डपछि नमस्कार
कम्युनिष्टको सिद्धान्त अनुसार लालसलाम अभिवादन गर्ने प्रचलन छ । केही बर्ष अघि पूर्व माओवादी केन्द्रले भृकुटीमण्डपमा गरेको कार्यक्रममा एक कार्यकर्ताले पार्टी अध्यक्ष प्रचण्डको गालामा थप्पड हानेका थिए ।
त्यसपछि आयोजना भएको चियापानमा नेता र कार्यकर्ताबीच हात मिलाउने प्रचलनको अन्त्य भएको छ । शनिवार नेकपाले गरेको चियापान कार्यक्रममा पनि नेता र कार्यकर्ताबीच हात मिलाउने कार्यक्रम राखिएन ।
कार्यकर्ताले टाढैबाट नेतालाई नमस्कार गरे । नेकपाभित्र पछिल्लो समय लालसलाम अभिवादन गर्ने भन्दा पनि नमस्कार गर्नेहरुको जमात बढ्दो छ ।