काठमाडौँ, कात्तिक ११ । नेपाल सरकार र मलेसिया सरकारबिच श्रम सम्झौता भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले संयुक्त रुपमा श्रम सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सभ्झौताअनुसार नेपाली कामदार वैदेशिक रोजगारको लागि मलेसिया जाँदा अब एक रुपयाँ पनि तिर्न नपर्ने भएको छ । प्लेन टिकट, सेवाशुल्क, स्वास्थ्य परिक्षण शुल्क , सुरक्षा जाँच शुल्क लगायतका सम्पुर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरि सम्झौता भएको हो ।
मलेसियन सरकारले नेपाली कामदारलाई लगाउदै आएको लेभी पनि खारेज भएको छ । करार अवधि भने ३ बर्षबाट घटाएर २ वर्षको बनाईएको छ । त्यस्तै गरि सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा थोरै नहुने गरि तलब दिने पनि सम्झौतापत्रमा उल्लेख छ । रोजगारदाता कम्पनीले प्रत्येक कामदारको तलब महिनाको सात गतेभन्दा अगाडी नै बैँकमा भुक्तानी गर्नुपर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारमा रहेको नेपाली कामदारको नजिकैको मानिसको मृत्यु भएमा पनि उसलाई १५ दिनको छुट्टी दिईने भएको छ । मलेसियाको विमानस्थलमा अवतरण गरेको ६ घण्टा भित्र कामदारलाई गन्तव्यमा लगिसक्नुपर्ने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ । श्रम मन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबिच भएको श्रम सम्झौताले नेपाली कामदारलाई मलेसिया जानको लागि र त्यहाँ काम गर्ने वातावरण खुलेको बताए । उनले सम्झौताको कार्यन्वयनमा दुवै देशको अधिकारीहरुले सघाउनुपर्ने समेत बताएका छन् ।