जेलबाटै यसरी चल्छ समीरको आपराधिक गतिविधि !

Diyo post  

काठमाडौं, कार्तिक १३ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ। प्रहरीले सोही हत्या अभियोग लागेका तीनजनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको हो।

पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु केही निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ। बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए।

उनीहरुको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा महाशाखाको टोलीले गौचन हत्यामा संलग्न झापा बिर्तामोडका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौं नागार्जुनका रोशन बुढाथोकी र उदयपुर रौताका अमरबहादुर रानालाई आइतबार राति पक्राउ गरेपछि बस्नेतको योजनाको खुलासा भएको हो।

प्रहरी स्रोतका अनुसार एक साताभित्रै प्रतिष्ठित ठेकेदार वा एक मिडिया सञ्चालकको हत्या गर्ने योजना बनेको थियो । ‘समीरले जेलबाट छुट्टाछुट्टै समूह बनाएर सञ्चालन गर्दोरहेछ। उसको योजनामा केही प्रतिष्ठित व्यक्तिको निगरानी गरेको पाइयो’, महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने । पक्राउ परेका तामाङ, बुढाथोकी र राना बस्नेतकै सहयोगी हुन्।

मिडिया सञ्चालक वा निर्माण व्यवसायीमध्ये एकको हत्या गर्ने योजना बनाएर हतियार व्यस्थापनका लागि केही व्यक्ति खटिएको सूचनासमेत प्रहरीले पाइसकेको अवस्थामा उनीहरु पक्राउ परेको महाशाखाका एक अधिकारीले बताए।

‘जेलमा रहेका बस्नेतको निर्देशनमा काठमाडौं र भारतका विभिन्न स्थानमा बसेर उनीहरुले पैसा असुली गर्ने, धम्क्याउने र केही व्यक्तिको हत्या योजनासमेत बनाएको पाइयो’, एसएसपी सिंहले भने। प्रहरीले सोही विषयलाई लिएर बस्नेतकी श्रीमतीलाई समेत निगरानीमा राखेको छ।

बस्नेतकै निर्देशनमा काठमाडौंमा छुट्टै समूह र काठमाडौंबाहिर छुट्टै समूह बनाएर व्यवसायीको हत्या योजना बनाएको प्रहरीको दाबी छ। प्रहरीले पक्राउ परेका तीनैजनाले गौचन हत्यामा संलग्न रहेको स्वीकार गरिसकेको जनाएको छ।

गौचन हत्यामा रानाले मुख्य सुटरको भूमिका निर्वाह गरेका थिए। ०७३ चैत २९ गते बौद्धमा काभ्रेका गुन्डा नाइके दावा लामालाई गोली हान्ने घटनामा रानाकै संलग्नता रहेको थियो भने सोही वर्षको पुसमा रुपन्देहीका दुर्गा तिवारीको हत्यामा पनि उनी नै सुटर रहेको एसएसपी सिंहले बताए। राना नेपाली सेनाका भगौडा हुन्।

रानाको पहिलो निसानामा चार वर्षअघि गुन्डा नाइके दिनेश अधिकारी परेका थिए। त्यतिबेला राना राधे समूहमा थिए भने बस्नेत सोही समूहका सहयोगी थिए। नेपाली सेनाबाट भागेपछि उनको संगत गुन्डाहरुसँग भएकाले उनले सुटरको जिम्मेवारी पाउँदै आएको प्रहरीको भनाइ छ। पक्राउ परेका तामाङले हत्या, फिरौती असुलीजस्ता आपराधिक घटनामा सुरक्षा निकायलाई फोन गरेर जिम्मेवारी लिने गरेका थिए।

गौचनको हत्या हुनुअघि गौरीघाटमा गुन्डा नाइके दावा लामामाथि तामाङले नै गोली प्रहार गरेको प्रहरीले जनाएको छ। त्यस्तै गुन्डा नाइके गणेश लामामाथि पाँच महिनाअघि गौशलामा बुढाथोकी समूहले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ।

२३ असोज २०७४ मा काठमाडौंको शान्तिनगरबाट नयाँबानेश्वर जाने क्रममा गौचनको गोली प्रहार गरी हत्या भएको थियो। हत्यापछि यसअघि नै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । त्यति बेला सुटरको भूमिका निर्वाह गरेको भनिएका नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का २१ वर्षीय राजीव स्याङ्तानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो।

सो घटनामा यसअघि नै हतियार तथा मोटरसाइकल व्यवस्थापक पर्सा, कालिकामाई गाउँपालिका १ का ३५ वर्षीय शिवजी महतो, हतियार व्यवस्थापक भारत, बेतियाका २४ वर्षीय मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापक ठोरी गाउँपालिका ५ का १८ वर्षीय सन्तोष गुरुङ, काठमाडौं, नार्गाजुन नगरपालिका ४ का २२ वर्षीय प्रकाश बुढाथोकी पक्राउ परेका थिए।

गौचन हत्यामा प्रयोग भएका दुइवटा हतियारमध्ये एउटा हतियार भने केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट ८ राउन्ड गोलीसहित बरामद गरेको थियो। सो हतियार वसन्त थेवे र धनराज योङहाङबाट बरामद भएको थियो। उनीहरु गौचनको दैनिक गतिविधि निगरानी गर्न खटिएका थिए। रानाले प्रयोग गरेको हतियार गंगा लिङदेनले राखेका कारण बरामद नभएको प्रहरीले जनाएको छ।

लिङदेन र अर्का आरोपी अजय थापा अझै फरार छन्। तराई–मधेसको हुलाकी लोकमार्गको ठेक्काबापतको २ प्रतिशत कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैंटेको परिवारलाई एक करोड नदिएका कारण गौचनको हत्या भएको प्रहरीले जनाएको छ। मंगलबारको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर