प्रम ओलीलाई भेट्न अस्पतालपरिसरमा नेताहरुको घुइँचो

प्रम ओलीलाई भेट्न अस्पतालपरिसरमा नेताहरुको घुइँचो

काठमाडौँ, १३ कात्तिक । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न मंगलबार बिहानैबाट पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ । ओलीसँग भेट गरेर सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गरेका छन्।
सभामुख बिहान त्यहाँ पुगेका थिए ।
भेटपछि महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगे ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा.डा. अरुण सायमीले भने, “प्रधानमन्त्री ओलीले बिहानी खाजा खानुभयो, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको
थियो । रासस

Trending News