काठमाडौँ, कात्तिक १४ । करार र ज्यालादारी कर्मचारीहरुले पुनर्वहालीको माग गर्दै सिंहदरबार भित्र आन्दोलन चर्काएका छन् । विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा कार्यलयका अस्थाई, करार तथा ज्यालादारी कर्मचारीहरुले २४० दिन भन्दा बढी काम गरेका कर्मचारीहरुलाई पुनर्वहाली गर्नुपर्ने माग राख्दै सामान्य प्रशासन मन्त्रालय अगाडी धर्ना दिएका छन् ।
सिंहदरबार भित्रै आन्दोलन चर्किएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चित गर्न माग गर्दै दैनिक चार घण्टा धर्ना दिन थालेपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको हो । सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशाज्ञा र नागरिकताको जाँचमा कडाई गरिएको छ ।
आन्दोलित समुहले गत आईतबारदेखी अस्थाई, करार र ज्यालादारी कर्मचारीहरुलाई पुनर्वहाली गर्न माग गर्दै धर्ना दिइरहेका छन् । धर्नापछि कोण सभा गर्दै बुधवारको लागि आन्दोलन स्थगित गरेको समुहले सरकारले आफुहरुको विषयलाई गम्भिर रुपमा नलिए अझै शसक्त ढङगले अगाडी बढ्ने चेतावनी दिएका छन् ।