काठमाठडौं, कार्तिक १५ । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् । चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।
नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुटबाहेक चोरीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे । यसपटक त्यति भएनन् । यसका पछाडि केही कारण छन् । त्यो के भने भए जति सबै चोर प्रहरी नियन्त्रणमा रहनु हो । यसपटक हामीले चोरीसँगै डकैत घटनामा संलग्न पटकेहरूलाई पनि नियन्त्रणमा लिएका छौँ ।’
११४ चोर–डाँका हिरासत कक्षमा, चाडपर्वलाई लक्षित गरेर पक्राउ
पक्राउ परेमध्ये पटके चोर धेरै
परिसरका अनुसार यसपटक पटके र नयाँसहित ७७ चोर पक्राउ गरिएको छ । त्यसमध्ये ३९ पटके हुन् । बाँकी ३८ नयाँ चोर छन् । त्यस्तै, प्रहरीले यही अवधिमा ४३ पाकेटमार पक्राउ परेका छन् । लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । सबै गरी परिसर मातहतका हिरासत कक्षमा अहिले चोर र पाकेटमारको संख्या १ सय १४ पुगेको छ ।
पक्राउमध्ये दिनेश भनिने आरएन सेढाई चारपटकसम्म चोरी मुद्दामा पक्राउ अभियुक्त हुन् । टंक लामा तीनपटक चोरी अभियोगमा पक्राउ परेका थिए । दिप्ती चौधरी, राजन लामा, गोपाल खड्का र आयुष ठकुरी दुईपटक चोरी घटनामा संलग्न अभियुक्त हुन् । बाँकी ३३ अभियुक्त कम्तीमा एकपटक चोरी र डकैत अभियोगमा पक्राउ परिसकेका प्रहरीले जनाएको छ ।
सार्वजनिक मुद्दामा म्याद थप्दै हिरासतमा
प्रहरीका अनुसार पक्राउ परेका अधिकांशलाई सार्वजनिक मुद्दाअन्तर्गत म्याद थप गरी हिरासतमा राखिएको छ । चोरी र डकैत प्रमाणित हुने अभियुक्तविरुद्ध भने चोरी र डकैत मुद्दाअन्तर्गत नै म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
‘चोरी घटनामा संलग्न कोही चार पटकसम्म पक्राउ परेका छन् । कोही तीन र दुईपटकसम्म पक्राउ परी जेल सजायसमेत भुक्तान गरेर छुटेका समेत छन्,’ एसपी सिंहले भने, ‘एक–एकपटक पक्राउ परेका अभियुक्त पनि यसअघि सजाय भुक्तान गरी छुटेका अभियुक्त हुन् । अधिकांशलाई सार्वजनिक मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ । चाडपर्व सकिएपछि उनीहरूलाई छाडिनेछ ।’
डन मानी प्रहरीको कडा निगरानी
प्रहरीले राजधानीमा सक्रिय र निष्क्रिय सबै टोले गुन्डा तथा डनका गतिविधिमाथि पनि निगरानी बढाएको छ । तर, उनीहरूलाई पक्राउ भने गरेको छैन । एसपी सिंहले भने, ‘हामीले राजधानीमा रहेका टोले गुन्डा र चर्चित डनका गतिविधिमाथि पनि निगरानी बढाएका छौँ । तर, उनीहरूलाई तत्काल पक्राउ भने गरिएको छैन ।’
चाडपर्वका वेला अशान्ति मच्चाउने खालका गतिविधि हुनासाथ उनीहरूलाई नियन्त्रणमा लिने एसपी सिंहले बताए । उनका अनुसार प्रहरीले त्यस्ता टोले गुन्डा र डनको सूची नै बनाएर तयारी अवस्थामा बसेको छ । बिहीबारको नयाँपत्रिका दैनिकमा खबर छ ।