काठमाडौं, कात्तिक २८ । राजधानीको दरबारमार्गमा रहेको एक होटलको जग्गालाई कम मूल्यांकन गरेर करोडौँ रुपैयाँ बिक्री गरी करछली गरेको भन्दै रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहका छोरा दरबार बुटिक होटलका जीवनबहादुर सिंहविरुद्ध सम्बन्धित निकायमा मुद्दा दर्ता गरिएको छ ।
कात्तिक २६ गते सोमबार अवैध कारोबार गरी राजस्व छली गरेको किटानी जाहेरी गर्दै सिन्धुपाल्चोकका सुजन दाहालले सिंहविरुद्ध उजुरी गरेका हुन् ।
काठमाडौंको दरबारमार्गमा भएको काठमाडौं दरबार होटल प्रालिले दरबार बुटिक होटल प्रालिको नाममा रहेको दुई रोपनी आठ आना तीन पैसा दुई दाम क्षेत्रफल रहेको जग्गालाई कम मूल्यांकन देखाई बिक्री गरेको थियो । उक्त जग्गामा काठमाडौं दरबार होटलको तर्फबाट रामकुमार भट्टराई तथा दरबार बुटिक होटलका तर्फबाट जीवनबहादुर सिंहले करछली गरेको आरोप छ ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कित्ता नम्बर ५१९९ को तीन आना एक पैसा कित्ता नम्बर ५२०० को पाँच आना तीन पैसा दुई दाम, कित्तानम्बर ५४६ को एक रोपनी १४ आना तीन पैसा क्षेत्रफल गरी जम्मादुई रोपनी आठ आना तीन पैसा दुई दाम क्षेत्रफल रहेको जग्गा ६० करोडमा बैना गरेर पछि पास गर्ने बेलामा ३० करोड देखाई पास गरी राजस्व छली गरिएको छ ।
जग्गा बैना गर्दाको कागजात र पास गर्दाको कागजातमा फरक बनाइ जग्गाको यथार्थ मूल्यभन्दा कम मूल्यांकन गरी आयकर, मालपोत दस्तुर छली गरेको पाइएको छ । यो कार्यबाट ३० करोड रुपैयाँको आयकर छ करोड रुपैयाँ र सोको हुन आउने जरिवाना छ करोड गरी कुल १२ करोड रुपैयाँ राजस्व छली गरेको दाबी उजुरीपत्रमा गरिएको छ ।
जग्गाको खरिदबिक्री गर्दा मालपोत दस्तुरमा समेत छली गरेका छन् । तीन करोड रजिष्ट्रेसन दस्तुर हुनुपर्नेमा मालपोतमा केवल एक करोड ५० लाख रुपैयाँ देखाई दस्तुर समेत छली गरेको ठहर गरिएको छ ।
उजुरीमा एक करोड ५० लाख रुपैयाँ र त्यसमा हुन आउने जरिवाना एक करोड ५० लाख रुपैयाँ सम्बन्धित व्यक्तिबाट असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ । कम मूल्यांकन गरेर जग्गा खरिद गर्नेले प्रचलित सम्पत्ति शुद्धीकरण नियन्त्रण ऐनविपरीत रहेको दाबी समेत गरिएको छ । सो ऐनअनुसार आयकर छल्ने नियतले तथा गैरकानुनी रुपमा कमाएको धनबाट खरिद गरेको भन्दै सो ३० करोड रुपैयाँको कारोबार सबै अवैध रहेको ठहर समेत मुद्दामा उल्लेख गरिएको छ ।
सिंहका बाबुले सञ्चालन गर्दै आएका रोयल क्यासिनो तथा उनका सम्पूर्ण खाताहरु रोक्का गरी उपयुक्त जाँच गरी आयकर निर्धारण गर्न समेत माग गरिएको छ । उनका बाबु सुरेन्द्रबहादुर सिंहका विरुद्ध पनि १३ वटा निकायमा मुद्दा परेको छ । याक एण्ड यति होटलको परिसरमा सञ्चालित रोयल क्यासिनोका सञ्चालक सिंहविरुद्ध १३ निकायहरुमा उजुरी परेसँगै पछिल्लो समय उनकै छोरा जीवनबहादुर सिंहविरुद्ध पनि करछलीको मुद्दा दर्ता भएको छ ।