परराष्ट्रमन्त्रीको आज जापान जाँदै

दियो पोस्ट  

काठमाडौँ, मंसिर १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छन३ ।

जापानबाट स्वदेश फर्कनेक्रममा उनले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली रहनेछन् । मन्त्रालयका अनुसार मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् भने जापानमा रहेका नेपालीसँग छलफल गर्नेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी छन् ।
मन्त्री ज्ञवाली मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कनेछन् ।