‘प्रचण्ड र वादलले नुहाएपछि तातोपानी कुण्डमा पर्यटकको आइरो लाग्यो’

दियो पोस्ट  

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्री रामबहादुर थापा ‘वादलले म्याग्दीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा नुहाएपछि पर्यटकको ओइरो लागेको छ ।

अन्नपुर्ण पदयात्राका पर्यटकमाझ चर्चित बेनीको तातोपानी कुण्डमा प्रचण्ड र वादलले नुहाएपछि पर्यटकको संख्यामा बृद्धि भएको हो ।

कुण्डमा केही समयदेखि स्वास्थ्यका लागि भनेर बिभिन्न बिरामीहरु आउने संख्यामा समेत बृद्धि भएको छ ।

बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ ।

कात्तिक अन्तिम साता पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको नसा सम्बन्धी उपचार समेत गराउन गुण्डमा पुगेका थिए ।

त्यसैगरी गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला लगायतको टोलीले तीन दिनसम्म तातोपानी कुण्डमै स्नान गरेक थिए ।

तीन दिनमा आठ घण्टा प्राकृतिक तातोपानीलाई जम्मा गरिएको कुण्डमा स्नान गरेपछि प्रचण्ड सहितका नेताहरु काठमाडौ फर्किएका थिए ।

जमीनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र विरेनूनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने मान्यता र विश्वासले मानिसहरु जाने गरेका छन् ।

‘प्रचण्डले स्नान गरेपछि तातोपानी कुण्डको राम्रो प्रचार भयो’


विरेन्द्र मान शाक्य
अध्यक्ष, कुण्ड व्यवस्थापन समिति

कुण्डसम्म जाने सडकको अवस्था कस्तो छ ?

बेनीदेखि कुण्डसम्म पुग्ने सडकलाई कालोपत्र गर्न शुरु भएको नौ किलोमिटरको योजनालाई प्रभावकारी बनाउन हामीले पहल गरिरहेका छौं कुण्डको पूर्वाधार निर्माण, क्षमता विस्तार र थप व्यवस्थित बनाउन सक्दो पहल गर्न हामीले माग गरेका छौं ।

उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर र कोरला नाका सञ्चालनमा आएमा बेनीसँगै सिङ्गो म्याग्दीको मुहार फेर्न सकिने विश्वास लिएका छौं ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न के योजना छ ?

–जमीनबाट निस्कने तातोपानीको महिमा अत्यन्तै बढी रहेको छ । यस क्षेत्रको विकासको लागि पूर्वाधार निर्माणसँग प्रचारप्रसारमा बढी ध्यान केन्द्रीत गर्ने योजना बनाएका छौं ।

यहाँ स्वदेशका मात्रै होइन विदेशबाट समेत स्वास्थ्य उपचारका लागि बिरामी र पर्यटक भित्र्याउन सकिने राम्रो सम्भावना छ । म्याग्दी हिमाल, पहाड, मनोरम भू–बनोटसँगै धार्मिक, कृषि र ग्रामीण पर्यटनको दृष्टिकोणमा समेत महत्वपूर्ण रहेको छ ।

कुण्डमा कसरी उपचार हुन्छ ?

तातोपानीमा म्याग्दी नदीको किनारमा जमीनभित्रबाट ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको पानी निस्कन्छ । गन्धक र विरेनूनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ ।

कुण्डमा डुबेपछि बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ ।

कुण्डमा नियमित नुहाउनाले ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिन्ने, गलगाँड, एसाइतिसलगायतका रोग निको हुने विश्वास छ । यहाँ उपचार गराएर जानेहरुले पनि त्यो प्रतिक्रिया दिने गरेका छन् ।

एक पटकमा कुण्डमा कति जनाले स्नान गर्न सक्छन ?

– एक पटकमा कुण्डमा २५० जनाले नियमितरुपमा डुबेर उपचार गर्न सक्छन । सल्फर र गन्धकको मात्रा रहेकाले यो कुण्डमा स्नान गर्नेको एक जनाको रोग अर्कोमा सर्दैन । पानीको गुणबारे थप अनुसन्धान लागि पानी परीक्षणसमेत गरिएको छ ।

कुण्डमा नुहाउन आउनेहरुको संख्याको अवस्था कस्तो छ ?

दशै तिहारमा विदामा नुहाउनको संख्या निकै बढी छ । महिलालाई दुई पालो पुरुषलाई एक पालो गरेर बाडने गरेका छौं । दैनिक दुई सय भन्दा बढीले स्थान गर्नुहुन्छ । मुलुकका विभिन्न स्थानबाट एक हप्तादेखि १५ दिनसम्मको प्याकेजमा कुण्डमा स्नान र डुब्नका लागि आउनेको संख्या प्रत्यक बर्ष बढदै गएको छ ।

तथ्याङक अनुसार गत वर्ष १६ हजार ९७८ जनाले यस कुण्डमा आएर स्नान गरी उपचार गरेका छन् । प्रचण्ड र वादलले स्नान गरेपछि राम्रो प्रचारप्रसार भएको छ ।

स्नान गर्न कति शुल्क लाग्छ ?

यस कुण्डमा स्नान गर्नका लागि १० दिनको रु ३०० शुल्क तिर्नुपर्छ । तीन सयको टिकट काटन ११ दिनसम्म नुहाउने व्यवस्था गरेका छौं । कुण्डबाट भएको आम्दानीबाट स्थानीय सरस्वती माविका नौ जना शिक्षकको तलब सुविधा उपलब्ध गराइन्छ । यस क्षेत्रमा होटलहरु छन् । आफै पनि पकाएर खान सकिने व्यवस्था छ । एक हप्ता नौ दिन कतिको प्याकेजमा आउछन् ।

अन्तिममा के भन्न चाहानुहुन्छ ?

– यस तातोपानी कुण्डको चर्चा परिचर्चा विगत लामो समयदेखि हुँदै आएको हो । यसअघि पनि देशका उच्च तहका व्यक्तिहरु कुण्डमा स्नान गर्नुभएको थियो । यस पटक सिङगापुर लगायतका ठाउँमा पुगेरसमेत उपचार गर्दा निको नभएपछि मुलुककै पूर्वप्रधानमन्त्री प्रचण्डले पत्नी दाहाललाई तातोपानीमा डुबेर उपचार गराइनुले यस क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

यसले यो क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान पुगेको हामीले विश्वास लिएका छौं । प्रचण्ड आएपछि पाहुना आउने संख्या बढ्छ । माघ फागुन चैत्रमा संख्या निकै ठूलो हुन्छ । त्यो भन्दा अन्य समयमा आउन हामीले आग्रह गरेका छौं ।

चिसोको समयमा कमै आउनुहुन्छ । यस क्षेत्रमा एक रातमा दस हजारसम्म मानिसहरु राख्न सकिन्छ । एक पटक आएर सबैले स्नान गर्न आग्रह गर्दछु ।