काँकडभिट्टा, मंसिर २ । झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् ।
विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरू डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए ।
मेचीनगरको जोरसिमल आसपासमा काम गरिरहेका उनले धान काटेबापत प्रतिबिघा १० हजार रुपैयाँ लिने गरेको सुनाए । उनका अनुसार धान काट्ने, उठाउने, कुन्युँ लगाउने, थ्रेसर लगाएर घर भित्र्याउनेसम्म गर्दा ५० हजारजति ज्याला लिने गरेको जनाए । ‘अहिले हामी धान काट्ने काम मात्रै गर्दै आएका छौं,’ उनले भने ।
नेपाली युवा तथा श्रमिक वर्ग
विदेश जाने क्रम बढेसँगै कृषिमा श्रमिक अभाव खडकिन थालेको जानकारको भनाइ छ । ‘नेपाली श्रमिक अभाव भएपछि काम गर्ने मान्छे त चाहियो,’ स्थानीय शिक्षक दामोदर ढुंगेलले भने, ‘नेपाली श्रमिक विदेश जान थालेपछि भारतीय श्रमिक भित्रिएका छन् ।’
भारतीय खेतालाको आगमनले आफूहरू मारमा परेको स्थानीय श्रमिकको भनाइ छ । भारतीय आउन थालेपछि हाम्रो भाग खोसिएजस्तो भएको कर्ण राजवंशीले बताए । उनले भने, ‘हामीले भारतीयलाई रोक्ने प्रयत्न गर्यौं तर सकेनौं ।’
भारतीय श्रमिकलाई स्थानीय श्रमिकको दाँजोमा धेरै ज्याला दिने गरिएको गुनासो प्रसाद मेचेले गरे । उनले भने, ‘भारतीयलाई जति हामीलाई विश्वास गरिँदैन ।’ स्थानीय श्रमिकका अनुसार भारतीयले धान काटेर मात्रै करोडौं रुपैयाँ लैजाने गरेका छन् ।
कृषि प्राविधिक सहायक शालिग्राम भट्टराईले नेपाली श्रमिक विदेशिएका कारण भारतीयलाई निम्त्याएर काम लगाउनुपरेको बताए । उनले भने, ‘देशमा काम गर्ने मान्छे अर्कैको देशमा काम गरिरहेका छन्, अनि हाम्रामा अर्कै देशका मान्छे आएर काम गरिरहेका छन् ।’