टी.पी शर्मा
काठमाडौं, ७ मंसिर । देशमा दुई तिहाइको सरकर बनेपछि देशले काँचुली फेर्ने आम मनोविज्ञान थियो । नागरिकहरु आशावादी बनेका थिए । तर, नेपालको इतिहासमैं दुई तिहाईको सरकार बनेको यो ९ महिनामा कुनै पनि रचनात्मक काम नहुँदा चरम नैराश्यता मात्र छाएको छैन । अब त सरकारले केही गर्छ की भन्ने आशासमेत निराशामा बदलिएको छ । आशै आशमा रहेका नागरिकहरु ओली सरकारबाट निराशाको संकेत मात्रै पाइरहेका छन् ।
केपी ओली नेतृत्वको सरकार नेपालको राजनीतिक इतिहासमैं बलियो हो । किनकी यसले बहुमत मात्रै प्राप्त गरेको छैन । दुई तिहाई मत प्राप्त यो सरकारलाई कुनै पनि काम गर्न कसैले छेक्दैन अनि रोक्दैन । प्रमुख प्रतिपक्षीले कुनै हालतमा कुनै विषयमा सरकारलाई घुँडा टेकाउन सक्दैन । सक्छ त केबल सरकारका काम गराईमा खबरदारी गर्न मात्र ।
प्रधानमन्त्री नै असन्तुष्ट
तर, बिडम्वना विपक्षीबाट यत्ति धेरै आत्तिनुपर्ने, तर्सिनुपर्ने अवस्थामा नरहेको सरकार उल्टै सुस्त, गतिहीन र निष्प्रभावी बन्दै गएको छ । यो अरुको आक्षेप भन्दा प्रधानमन्त्रीको मनोविज्ञान हो । केही समय अघि प्रधानमन्त्री ओलीले सरकारलाई प्रभावकारी बनाउन कसैले पनि सहयोग गरेनन् भनेर प्रतिक्रिया दिएका थिए । दुई दिन अगाडि त उनले मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन गर्दै सन्तुष्ट हुन नसकेको बताए । मन्त्री, मन्त्रालय, सचिवहरुले गरेको कामसँग सन्तुष्ट नभएरै उनले प्रभावकारी नतिजा दिन सचेत गराएका छन् । बजेटको सही सदुपयोग गर्न, कार्यक्रमहरु होटलको सट्टा सरकारी भवनमैं गरेर खर्च बचाउँन, नतिजा दिने गरी काम सक्न निर्देशन दिएका थिए ।
सत्तारुढ नै असन्तुष्ट
यतिखेर दुई दल एमाले र माओवादी मिलेर बनेको नेकपाको दुई तिहाइको सरकार छ । तर, सरकारको काम गराईसँग अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपालदेखि झलनाथ खनाल सम्मले सार्वजनिक कार्यक्रममा असन्तुष्टि व्यक्त गरिरहेका छन् । यसले पनि सरकारको कमजोरीलाई छताछुल्ल पारेको छ ।
प्रतिपक्षी झन् आक्रामक
प्रधानमन्त्री केपी ओली आफैं नेतृत्वको सरकारको काम गराईसँग असन्तुष्ट रहेको समाचार आइरहँदा बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै रोश प्रकट गरे ।
वर्तमान सरकारको ९ महिनालाई “नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ” भनेर भनेर ९ विषयमा उनले प्रश्न तेस्र्याए । लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन, राष्ट्रवादः पुरानो दावी र पछिल्लो स्थितिको तुलना, संघीयताः कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र, सुसासनः नमच्चीने पिङको सय झड्का, बजारमूल्यः कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज, शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या, न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण र
संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्स, प्रगति शुन्य भन्दै कांग्रेसले प्रश्न उठाएको हो ।
सरकारले ठूलो स्वरमा समृद्धि यात्राको सपना बाँडे पनि रेल, विमानस्थलको निर्माणमा सुस्तता, सूचना लुकाउँने, तेलमा मूल्य समायोजन नगर्ने, विमान खरिदमा अनियमितता, निर्मला पन्तका हत्यारा पक्रन नसक्नु, आफ्नो देशको रेल उद्घाटनमा भारतीय मुख्यमन्त्री ल्याउनुले सरकार कुनै पनि कुरामा सिरियस नभएको टिप्पणी कांग्रेसले गरेको हो ।
सरकारमाथि आलोचनाको भर्याङ राष्ट्रपति
सरकारमाथि चारैतर्फबाट दबाब सिर्जना हुँदा यतिखेर राष्ट्रपति कार्यालयलाई १८ करोडको गाडी किन्ने चर्चाले सरकारमाथि एकैपटक रोष प्रकट भएको छ । जनताले महसुस गर्ने गरी विकासका कामले गति नलिंदा सरकारमाथि यसरी प्रश्न उब्जिएको हो । जनताले विकास, समृद्धिको सानो छनक पनि नपाउने तर, राज्यलाई असीमित भार पर्ने गरी राष्ट्रपतिलाई सुविधा बढाउने विषयमा धेरै नै आलोचना भएको हो । यसले पनि दुई तिहाइको सरकारलाई झन् गाह्रो बनाएको छ ।