केही दिनयता उनी जथाभावी बोल्ने, कतिबेला हाँस्ने, कतिबेला रुने, भेट्न आउनेलाई गालीगलौज गर्ने र हातपात नै गर्ने अवस्थामा पुगेका थिए । शुक्रबार उनी महेन्द्रनगर बजारमा गालीगलौच गर्दै हिँडिरहेका थिए । उनलाई प्रहरीको सहयोगमा बजारबाट धर्नास्थल पुर्याइएको थियो ।
‘लगातारको धर्ना र मानसिक थकानका कारण केही समस्या देखिएको हो,’ शुक्रबार यज्ञराजको स्वास्थ्य जाँच गरेका महाकाली अञ्चल अस्पतालका डाक्टर सुदीप खरेलले भने, ‘उनी उसै पीडामा थिए, त्यसैमाथि लगातारको धर्ना र धेरै मान्छेसँग बोल्दा थप तनाव भएको हुन सक्छ ।’ अहिले यज्ञराजलाई एकान्त र आरामको खाँचो रहेको उनले बताए । ‘अहिले मानसिक अवस्था बिग्रिसकेको छैन,’ डा. खरेलले भने, ‘तर अहिले नै आराम र उपचार नपाए भोलि समस्या हुन सक्छ ।’