निकम्मा नेप्से, अराजक लगानीकर्ता

दियो पोस्ट  

-लगानीकर्ताद्वारा नेप्से कार्यालय घेराउ 

-घेराउकै क्रममा हातपात

सेयर बजार लगानीकर्ता आफैँले अनलाइन कारोबार गर्ने सुविधा नपाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सञ्चालनमा ल्याएको तीन हप्ता बितिसक्दा पनि आफैँले कारोबार गर्न नपाएपछि लगानीकर्ता आक्रोशित भएका हुन् ।

गत कात्तिक २० गतेदेखि नेप्सेले औपचारिक अनलाइन कारोबार सुरु गरेको हो । पूर्ण अनलाइन सिस्टममा लगानीकर्ता आफैंले कारोबार गर्न पाउने सुविधा हुने भए पनि नेप्सेले सुरुवातमा ५० वटा ब्रोकरलाई मात्रै कारोबारको सुविधा दिएको थियो । दुई हप्तापछि लगानीकर्तालाई युजरआइडी र पासवर्ड दिइने भनिए तापनि सिस्टममा नै समस्या देखिएपछि यो प्रक्रिया लम्बिएको छ । अझ, आइतबार नेप्सेको नयाँ सिस्टमको सर्भर डाउन भएपछि आक्रोशित लगानीकर्ताले सोमबार कार्यालय नै घेराउ गरेका हुन् । सोमबार नेप्से कार्यालय घेराउका क्रममा लगानीकर्ता विष्णुप्रसाद बस्यालमाथि हातपात भएको छ । लगानीकर्ताको हितविपरीत बोलेको भन्दै उनलाई अन्य लगानीकर्ताले हातपात गरेका हुन् ।

अझै समाधान भएन समस्या
नेप्सेले नट्स सञ्चालन गरेको पहिलो दिनदेखि नै डिस्प्ले नहुने र लगानीकर्ता पहिचान नहुनेलगायतका समस्या देखिएको थियो । मक ट्रेडिङमा देखिएका समस्यालाई सुधार गरी लाइभमा जान ब्रोकर एसोसियसनले नेप्सेलाई लिखित रूपमा नै सुझाब पनि दिएको थियो । तर, सिस्टम सञ्चालनमा आएको २१ दिन वित्तिसक्दा पनि यस्तो समस्या समाधान भएको छैन । नेप्सेको वेबसाइट र सिस्टमबीच आदान प्रदान हुने तथ्यांकको मिसम्याच हुँदा यस्तो समस्या देखिएको नेप्सेले बताउने गरे पनि निश्चित व्यक्तिको फाइदाका लागि नियतवश सिस्टममा सुधार नगरेको लगानीकर्ताको आरोप छ । केही लगानीकर्ताले भने नेप्सेले आर्थिक चलखेलको आधारमा गुणस्तरहीन सिस्टम प्रयोगमा ल्याएको समेत आरोप लगाएका छन् ।

बाइको कम्पनीले करिब १८ करोड लागतमा १ वर्ष लगाएर उक्त सिस्टम निर्माण गरेको हो । तर, सिस्टममा देखिएका समस्या समाधान गर्न भने सो कम्पनीले चासो देखाएको छैन । ‘कम्पनीले अन्य संस्थाजस्तै नेप्सेको सिस्टमलाई पनि समान्य सोच्यो, तर यो अत्यन्तै संवेदनशील विषय हो,’ एक ब्रोकरले भने । हामीले सिस्टममा भएका कमजोरी लिखित रूपमै बाइको र नेप्सेलाई बुझाएका छौँ ।

मंसिर २३ गतेदेखि लगानीकर्तालाई युजरनेम
नेप्सेले मंसिर २३ देखि लगानीकर्तालाई युजर आइडी र पासवर्ड उपलब्ध गराउने बताएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले २३ गतेदेखि आफ्नो विश्वासिलो लगानीकर्तालई युजर आइडी र पासवर्ड उपलब्ध गराउन ब्रोकरलाई निर्देशन दिइने बताए । आगामी आइतबारदेखि लगानीकर्तालाई अनलाइन कारोबारको लागि तालिम दिइने र पुस १७ गतेदेखि सबै लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराइने उनले बताए ।

चारवटा बैंक इन्ट्रिग्रेसनमा जाँदै
नेप्सेमा चारवटा बैंकले इन्ट्रिग्रेसनको तयारी गरेको छ । इन्भेष्टमेन्ट बैंक इन्ट्रिग्रेसनमा गइसकेको छ भने ग्लोबल आइएमई, सिद्धार्थ, प्रभु बैंक पनि इन्ट्रिग्रेसनको प्रक्रियामा गएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार आगामी २३ गतेसम्ममा चारवटा बैंक इन्ट्रिग्रेसन भइसक्नेछन् ।

एक महिनामा समस्या सामाधान
अब एक महिनाभित्र अनलाइन सिस्टम ट्र्याकमा आउने नेपाल ब्रोकर स्टक एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । ‘हामीले सिस्टममा देखिएका समस्या लिखित रूपमा नै नेप्सेलाई दिएका छाैं । भेन्डर कम्पनी पनि यस विषयमा गम्भीर देखिएको छ,’ उनले भने । त्यसैले एक महिनामा नेप्से, ब्रोकर र लगानीकर्ता पनि अभ्यस्त भइसक्ने उनले बताए । त्यस्तै, लगानीकर्तालाई अनलाइन कारोबारको सुविधा दिन ब्रोकर र लगानीकर्ताबीच हुने सम्झौताको खाका बनिसकेको उनले बताए । सम्झौताको आधारमा लगानीकर्तालाई युजरआइडी र पासवर्ड दिन समस्या नहुने एसोसिएसनका अध्यक्ष रानाभाटको भनाइ छ ।

के हो अनलाइन ट्रेडिङ सिस्टम ?
इन्टरनेटको माध्यमबाट सेयर कारोबार गर्न सकिने अवस्थालाई नै अनलाइन ट्रेडिङ सिस्टम भनिन्छ । यो सिस्टमको माध्यमबाट लगानीकर्ताले कुनै पनि स्थानमा बसेर आफ्नो सेयर खरिद वा बिक्री आफैँले गर्न सक्छन् । लगानीकर्ताले सेयर बिक्री गर्दा उसको सेयर स्वत खरिदकर्ताको खातामा जान्छ भने विक्रेताको खातामा रकम जम्मा हुन्छ ।

नेप्से घट्यो, कारोबार रकम बढ्यो
साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से ओरालो लागेपनि सोमबार कारोबार रकम भने बढेको छ नेप्से परिसूचक ६ दशमलव ३५ अंक घटेर १ हजार १ सय ६० दशमलव २८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १ दशमलव ३० अंक घटेर २ सय ४६ दशमलव ७२ विन्दुमा पुगेको छ ।

यस दिन १ सय ५५ कम्पनीको ४ हजार ८२ पटकको कारोबारमा ३० करोड ८४ लाख ९५ हजार ८४ रुपैयाँ बराबरको ९ लाख ९१ हजार ७ सय ३० कित्ता सेयर खरिदविक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन २७ दशमलव १२ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदचाप भन्दा विक्री चाप बढी रहेको संकेत गर्दछ ।

कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा सोमबार पनि एनएमबि बैंक अगाडि रहेको छ । बैंकको यस दिन २ सय ४२ पटकको कारोबारमा २ करोड २७ लाख ६५ हजार ३ सय ७० रुपैयाँ बराबरको ६३ हजार ७ सय ९७ कित्ता सेयर खरिदविक्री भएको छ । कारोबारमा आएका मध्य नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको सेयरमूल्य ४ दशमलव ४८ प्रतिशत बढेको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएको १ सय ५५ कम्पनीमध्ये यस दिन ३७ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १८ कम्पनीको सेयरमूल्य भने दिन स्थिर रहेको छ ।

नेप्सेका सिइओको राजीनामा माग
सोमबार नेप्से घेराउ गरेका लगानीकर्ताले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदको राजीनामा माग गरेका छन् । करिब दुई महिना मक ट्रेडिङ सञ्चालन गरी ल्याइएको सिस्टम राम्रोसँग सञ्चालन गर्न नसक्ने प्रमुखले नैतिकताकै आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ । आर्थिक चलखेलका लागि सिस्टम प्रयोगमा ल्याइएको लगानीकर्ताको आरोप छ । सिस्टममा खराबी आएपछि केही लगानीकर्ताले चलखेल गर्न सहज हुने उनीहरूको भनाइ छ ।

सिफारिस