कुखुराले हटायो अन्धविश्वास

diyopost.com
Diyo post  शुक्रबार, मंसिर १४, २०७५ | ७:२९:०६

बझाङ, मंसिर १४ । थलारा गाउँपालिका ६ डाँडाखेतका टीकाराम जोशी उपाध्याय हुन् । उनको परिवारमा बाहिरबाट आउँदा सुनपानीको छिटो हालेर मात्र घरभित्र पस्ने चलन छ । दुई वर्ष अघिसम्म जंगलबाट ल्याएको दाउरासमेत पानीले चोख्याएर सुकाएपछि मात्र बाल्ने चलन थियो ।

विपन्न भए पनि सामाजिक आलोचनाका डरले ब्राह्मणहरू हलो जोत्दैनन् । टीकारामले दुई वर्षअघि हलो जोते । छोइछिटो बार्न बन्द गरे । परिवारकै वृद्ध सदस्यहरू उनको हातको पानी खान हच्किए । उनले हार खाएनन् ।

ब्राह्मणहरू मात्र होइन, स्थानीय ठकुरी र क्षत्री समुदायमा कुखुरा पाल्न नहुने र मासु खाए पनि घरभित्र पकाउन नहुने संस्कार थियो । अन्धविश्वास तोड्नुपर्छ भन्ने सोचाइ लिएर उनले डेढ वर्षअघि गाउँपालिको सहयोगमा घरमै कुखुरा पाल्न थाले । गाउँपालिकाबाट ५ सय चल्ला अनुदानमा लिएर स्थानीय लक्ष्मीराज जोशीसँगको सहकार्यमा झन्डै २ लाख रुपैयाँ खर्चेरखोर बनाए ।

ब्राह्मणले कुखुरा पाल्न थालेको हल्ला गाउँभरि फैलियो ।‘सबैले उछितो काढे,’ लक्ष्मीराजले भने, ‘यिनीहरूले जातफाल्न आँटे, देउता रिसाएर अनिष्ट हुन्छ भन्दै आफन्त र दाजुभाइ नै हाम्राविरुद्ध लागे ।’
गाउँमा जति विरोध भए पनि, अरूले कुरा काटे पनि उनीहरूले कुखुरा पालेरै छोडे ।

बिस्तारै उनीहरूको आर्थिक स्तर उकासियो, जीवनशैली बदलियो । आम्दानी देखेर अरू पनि लोभिन थाले । अन्धविश्वास मात्र तोडिएन, स्थिति यस्तो भयो कि अहिले गाउँपालिकाका २ सय ६४ किसानले कुखुरापालन गरेका छन् । गाउँपालिकाले पनि पहिलोपल्टका लागि पूर्वाधार हेरेर एक किसानलाई १० देखि २५० वटासम्म चल्ला अनुदानमा दिएको छ ।

राम्रो कमाइ देखेपछि कुखुरापालन सुरु गरेकी शर्मिला ओझाले भनिन्, ‘जातले ठगिएर गरिब भएका हौं जस्तो लाग्थ्यो, अन्धविश्वासका कारण आफैंलाई ठगेका रहेछौं ।’ उनले पाँच महिनामा ७ हजार अन्डा बेचेर ८० हजार रुपैयाँ कमाएको बताइन् । ‘छोराछोरी पढाउन र घरखर्च चलाउन अब साहुसँग ऋण लिनुपर्ने स्थिति रहेन,’ उनले भनिन् ।

गाउँपालिकाका पशु सेवा इकाइ प्रमुख वाल्मीकिप्रसाद जोशीले भने, ‘कुखुरा पाल्दा जात जान्छ भन्नेहरू अहिले अन्डा मात्रै बेचेर दिनको ३/४ हजारसम्म कमाउने भएका छन् ।’ थलारा गाउँपालिका एक वर्षमै कुखुराको मासु र अन्डामा आत्मनिर्भर भएको उनले बताए ।

यहाँ उत्पादित अन्डा र मासु सदरमुकाम चैनपुर र छिमेकी दुर्गाथली, केदारस्युलगायत गाउँपालिकासम्म निर्यात हुने गरेको छ । ‘यो वर्ष थलाराबाट डेढ करोडभन्दा बढीको कुखुरा र अन्डा उत्पादन हुने अनुमान छ,’ उनले भने ।

सम्बन्धित खबर