सेकुवा खानुहुन्छ ? सावधान ! क्यान्सरको शिकार हुनुपर्ला

सेकुवा खानुहुन्छ ? सावधान !   क्यान्सरको शिकार हुनुपर्ला

सरोजकुमारी चौधरी


काठमाडौं, २८ कार्तिक । सेकुवा, पोलेको मकै, बारबिक्यू जस्ता पोलेर बनाइएको खानेकुरा मन नपर्ने व्यक्ति शायद कम नै हुन्छन् । बाटोमा पोल्दै गरिएको मकै होस् वा सेकुवा कर्नरहरुमा पाउने कुखुरा, खसी, राँगो, सुङगुर वा भेडाका मासुका परिकार सानादेखी ठूला रेस्टुँरा मात्र नभएर सडकमा पनि छ्यापछ्यापति पाउने गरिन्छ ।


सन् २०१८ मा ‘वल्र्ड क्यान्सर रिसर्च फण्ड’ र ‘अमेरिकन इन्स्टिीच्यूट फर क्यान्सर रिसर्च’ को एक अध्ययन अनुसार ठूलो आन्द्राको क्यान्सर बढी हुने देशहरुको सुचीमा दक्षिण कोरिया पहिलो स्थानमा छ । दोस्रो स्थानमा मंगोलिया छ र तेस्रो स्थानमा जापान रहेको छ ।


https://www.wcrf.org/dietandcancer/cancer-trends/stomach-cancer-statistics

स्टोमक अर्थात् ठूलो आन्द्राको क्यान्सरमा महिला र पुरुषको अवस्था हेर्ने हो भने पनि क्रमश दक्षिण कोरिया, मंगोलिया र जापान नै अगाडि आउँछ । कोरियामा एक लाख जनामध्ये ३९ दशमलब ६ जनालाई आन्द्राको क्यान्सर भएको छ भने मंगोलियामा ३३ दशमलब १ जना र जापानमा २७ दशमलब ५ जनालाई यस्तो क्यान्सर भएको छ ।


महिला र पुरुषको तुलना गर्ने हो भने जापानमा १ लाख पुरुषमध्ये ५८ जनालाई ठूलो आन्द्राको क्यान्सर हुने गरेको छ भने मंगोलियामा ४७ जना र जापानमा ४१ जनालाई यस्तो समस्या देखिएको छ ।


अध्ययनका अनुसार यी ३ देशमा अत्याधिक मात्रामा पोलिएको माछा र मासु खाने गरिन्छ ।


यी देशका नागरिकहरुले अत्याधिक मात्रामा पोलेको माछा तथा मासु खाने, अमिलो खाने तर फलफूल नखाने गरेको अध्ययनमा उल्लेख गरिएको छ ।


अहिले विश्वभर नै बारबिक्यु अर्थात् नेपाली भाषामा भन्दा सेकुवाको माग र प्रयोग बढिरहेको छ । १० वर्षका बालबालिकादेखि वृद्ध उमेरका मानिसहरुले पनि सेकुवालाई खुबै मन पराएको पाइन्छ । अझ पछिल्लो समय त पिकनिक, पार्टी र खाजामा समेत सेकुवाको उपभोग ह्वात्तै बढेको छ ।


तर अध्ययनअनुसार यस्ता खानेकुरा स्वास्थ्यका लागि भने हानिकारक छ र यसले पेटमा गडबडी ल्याउनेदेखि क्यान्सरसमेत गराउन सक्छ ।


https://www.sciencefocus.com/the-human-body/is-bbq-food-bad-for-you/


सेकुवा भनेको मुख्यत माछा वा मासुलाई कोइला वा दाउरामा सेकाएर पाकेपछि खाने कुरा हो । मासुलाई मेरिनेट (मरमसलामा मोलेर) केही समय राख्ने र आवश्यकता अनुसार आगोमा पोलेर, सेकाएर खाने गरिन्छ ।


मासुमा क्रियटिन अर्थात् एमिनो एसिड हुन्छ । जुन स्वास्थ्यका लागि राम्रो हो । तर जब मासु पोलिन्छ, यो क्रियटिन रियाक्सन भई हेटेरोसाइक्लिक एमिनेज बन्छ । जुन क्यान्सरका कारकहरुमध्ये एउटा मुख्य कारक पनि हो ।


त्यो भन्दा बढी असर भने कोइला वा दाउरा बाल्दा आउने धुवा“ले गराउछ । धुवाँमा कार्बन हुन्छ, जुन क्यान्सरको मुख्य कारण हो ।


मासु पोल्दा वा सेकुवा बनाउँदा मासुमा केही मात्रामा तेलसमेत हालिन्छ । कतिपय मासुमा बोसोसमेत हुन्छ, जुन पोल्दा पग्लिन्छ र यसबाट पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन उत्पादन गर्छ । त्यो कार्बन त्यही पोलिरहेको मासुमा मिसिन्छ र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्दै क्यान्सरसम्म गराउन सक्छ ।


दाउरा वा कोलेर बालेर मासु पोल्दा धुवा“ निस्कन्छ । धुवा“ कार्बन डाइ अक्साइड र कार्सियोजेन भन्ने पदार्थ हुन्छ । यदि यस्तो कार्सियोजेन हाम्रो शरीरमा गयो भने यसले बिस्तारै क्यान्सरसम्म निम्त्याउन सक्ने बताउछन बिज्ञहरु ।


नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डाक्टर सन्जीवराज कुँवर


नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डाक्टर सन्जीवराज कुँवरका अनुसार पोलेको मासु वा सेकुवालाई स्वस्थवर्धक खानेकुरा मान्न सकिन्न । नियमित सेकुवा खाने व्यक्तिहरुलाई पेटमा समस्या आउनुका साथै भविष्यमा क्यान्सरसमेत हुन सक्छ ।


डाक्टर कुँवरका अनुसार बार्बिक्यु वा सेकुवा पोलेर खाने भएकाले मासु पोल्दा त्यहा धुवा लाग्ने हुन्छ । धुँवामा कार्सियोजेनको मात्रा बढी नै रहेको हुन्छ । कार्सियोजेन क्यान्सर गराउने प्रमुख तत्वसमेत हो ।


मासु पोल्दा मासुमा रहेको एमिनो एसिडसमेत पग्लन्छ र त्यो ग्याँस बनेर फेरि मासुमै मिसिन्छ । मासुको बोसो पग्लिएर अर्कै तत्व बनिदिन्छ र त्यसले स्वास्थ्यलाई गम्भीर असर गर्नसक्छ ।
बार्बिक्यु वा सेकुवाको मात्रा धेरै खाँदा त्यसले एसिडिटी र ग्यास्ष्ट्रिक गराउँछ । धेरै खाएमा त्यो नपच्नेसमेत हुन्छ । प्यांक्रियाजले खाना पचाउनका लागि उत्पादन गर्ने जुस उत्पादनमा कमी ल्याउँछ र त्यसले बिस्तारै ठूलो आन्द्रामासमेत असर पुराउँछ ।


पेटरोग विशेषज्ञ डाक्टर सन्जीवराज कुँवरका अनुसार यस्ता खानेकुराले फुड पोईजनिङसमेत गराउन सक्छ । त्यसकारण यसको उपभोगमा कम गर्नु नै वुद्धिमानी हुने उनको भनाई छ ।
उनी भन्छन्, ‘सेकुवा वा बार्बिक्यु खानै नहुने भने होइन । तर धेरै खानु भएन । खा“दा पनि कम धुवाँ आउने गरी प्रयोग गरिएको कोइला, कोइला र सेकुवा राख्ने ठाउँको दुरी आदि ख्याल गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार सेकुवाले भन्दा बढी असर सेकुवासँगै खाने मदिरा र चुरोटले गरिरहेको हुन्छ जसका कारण यस्ता तत्वले क्यान्सरलाई बढावा दिइरहेको छ ।


यता काठमाडौंमा सेकुवा चेन चलाइरहेको एक कम्पनीका म्यानेजर भने सेकुवा पकाउँदा ध्यान दिने हो भने कार्बन नियन्त्रण गर्न सकिने दाबी गर्छन् । एक सेकुवा चेनका म्यानेजर सन्जीवकुमार तिमिल्सनाका अनुसार सेकुवा बनाउँदा प्रयोग गरिने कोइलाको गुणस्तरदेखि विधिसम्म ख्याल गरेमा कार्बन नियन्त्रण गर्न सकिने उनको दाबी छ ।


सन्जीवका अनुसार कोइला प्रयोग गर्दा अग्राख वा कम धुवाँ आउने आरुबखडाको काठ वा कोइला प्रयोग गरिएमा त्यसले धुवाँ कम गर्न सक्छ । त्यसबाहेक सेकुवा पोल्ने स्थानमा एक्स्ट फ्यान राखेमा त्यसले धुवाँलाई बाहिर फ्याँक्न सक्छ जसबाट धुवाँबाट आउने कार्बन केही हदसम्म कम गर्न सकिन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको सेकुवा कति मिनेट पोलिन्छ र कोइला र सेकुवाको दुरी कति छ भन्ने कुरा महत्वपूर्ण हुने सन्जीव बताउँछन् ।

सेकुवा पोल्दा छिटो खाने भन्दै धेरै आगो बालेर पालियो भने त्यसले धेरै धुवाँ निकाल्छ । त्यो धुवाँ सेकुवामा टाँसिदा त्यसले असर गर्न सक्छ । त्यसैगरी कोइला र सेकुवाको दुरी पनि ठीक ढङ्गले कायम राख्नुपर्छ । धेरै नजिक सेकुवा राखेर पोल्दा त्यसले कार्बन लिने त्यो खाँदा असर पुग्ने उनी स्वीकार गर्छन् ।

Trending News