भारतमा भाइरल भएको तस्वीरको कथा ! यस्तो छ वास्तविकता

भारतमा भाइरल भएको तस्वीरको कथा ! यस्तो छ वास्तविकता

काठमाडौँ । पछिल्लो समय सामाजिक संजाल र छपछपती भेटिने अनलाईन पोर्टलहरुले घटनाको यथार्थतालाई बंग्याएर अन्यत्र पुर्याइदिने प्रवृत्ती बढ्न थालेको छ । भावनात्मक विषयहरुले सामाजिक संजालमा विशेष प्राथमिकता पाउँछन् र निकै छोटो समयमा भाइरल हुन्छन् ।

घटनाको यथार्थता नै नबुझी देखिएको भरमा वर्णन गर्ने प्रवृत्ती पुरानै हो । सामाजिक संजाल र अनलाईनहरुले यसमा पिरो अमिलो थपेर चटपटाहट बनाइदिन्छन् । यस्तै घटना केही समय अगाडी भारतीय संचारमाध्यममा निकै लोकप्रिय बनेको थियो ।

एउटा कक्षाकोठामा साना साना विद्यार्थीहरुलाई शिक्षिकाले पढाइरहेकी छिन् । कक्षाकोठाको ढोकामा एक जना बालिका उभिएकी छिन् । बालिकाको शरिर झुत्रो र फोहोर कपडाले ढाकिएको छ । हातमा एउटा खाली भाँडो छ । आफु सरहकै बालबालिकालाई अगाडी राखेर शिक्षिकाले लेख्न र पढ्न सिकाउँदै गरेको हेरिरहेकी छिन् ।

केही दिन पहिले भारतीय संचारमाध्यमहरुले निकै प्राथमिकताका साथ प्रकाशन गरेको तस्वीर हो । उक्त हैदराबादस्थित एक सरकारी विद्यालयमा खिचिएको थियो । तस्वीरमा देखिएकी ती बालिकाको नाम दिव्या हो ।

दिव्याको परिवार हैदराबादको केन्द्रमा अवस्थित एउटा गरिब बस्तीमा बस्छन् । बस्तीमा दिव्याको परिवारजस्तै अन्य तीन सय परिवार बसिरहेका छन् । बस्तीभन्दा सय मिटर पर छ उक्त सरकारी विद्यालय । बस्तीका प्राय सबै मानिसहरु ज्याला मजदुरी गरेर जीवनयापन गर्छन् । ज्यालादारी, प्लास्टिक र सिसाको बोत्तल संकलन । यी र यस्तै काम गरेर त्यहाँका मानिसहरु जिविकोपार्जन गर्छन् ।

भारतमा निकै भाइरल भएको यो तस्वीरले वास्तविकताभन्दा फरक कथा बोकेको पाइएको छ । ‘भोको हेराई’ शीर्षक दिएर त्यहाँको स्थानीय पत्रिकाले उक्त तस्वीरलाई प्राथमिकताका साथ प्रकाशन गरेको थियो ।

पत्रिकामा तस्वीर छापिएपछि भारतीय मानवअधिकारकर्मीहरुले चर्को आवाज उठाएका छन् । तस्वीर सार्वजनिक भएको भोलिपल्ट नै दिव्यालाई सोही स्कुलमा भर्ना गरिएको छ । दिव्याका पिता लक्ष्मणले भने पत्रिकामा आएको उक्त तस्वीरलाई गलत रुपमा व्याख्या गरिएको बताएका छन् ।

श्रीमतीसँगै कुचिकारको काम गर्ने लक्ष्मणले आफुले सन्तानकै लागि यस्तो दुख गरिरहेको बताए । बालिकालाई स्कुल पठाउने तयारी भइरहेकै अवस्थामा यस्तो तस्वीर सार्वजनिक हुँदा आफु र परिवारलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने भन्दै लक्ष्मणले संचारमाध्यमहरुको खण्डन गरेका छन् ।

लक्ष्मणको दिव्यासहित दुई सन्तान रहेका छन् । संचारमाध्यमहरुसँग कुरा गर्दै लक्ष्मणले आफुले छोरालाई पढाइरहेको र छोरीलाई पनि अर्को बर्षबाट स्कुल पठाउने तयारी गरेको बताए । लक्ष्मणका छोराले स्कुलको पढाई सिध्याएर कलेजमा भर्ना लिने तयारी गरिरहेका छन् ।

कुचिकारको काम गरेर लक्ष्मणको दम्पत्तीले मासिक १० हजार सम्म कमाउने गर्छन् । लक्ष्मणले आफ्नो सन्तान मात्र नभई भाईको सन्तानको समेत जिम्मेवारी वहन गरेका छन् । केही समयअगाडी सवारी दुर्घटनामा परि भाई बुहारीको मृत्यु भएपछि लक्ष्मणले भाईको पाँच सन्तानहरुलाई समेत छात्रावासमा राखेर पढाइरहेको बताए ।

तस्वीरको कारणले आफु निकै दुखि भएको बताउँदै लक्ष्मणले सन्तानकै भविष्यको लागि नै आफुहरु दिनरात मेहनत गरिरहेको बताए । सन्तानको जीवन पनि आफ्नो जस्तै नहोस भन्नका लागि नै उनिहरुलाई पढाउने बढाउने गरिरहेको उनको भनाई थियो ।

के थियो तस्वीरको वास्तविकता ?

दिव्या पाँच वर्षीया बालिका हुन् । तस्वीर खिचिएको विद्यालयमा उनका दाई दिदीहरु पढ्ने गर्छन् । भारत सरकारले दश लाखभन्दा बढी सरकारी विद्यालयमा खाजाको व्यवस्था गरेको छ । स्कुलमा दिउँसो खाजा बाँढ्ने भएपछि दिव्या पनि खाली भाँडो बोकेर पुगेकी थिईन् ।

दिव्या पहिलोपटक भाँडो बोकेर सो विद्यालयमा पुगेकी थिईन् त्यही बेलमा कसैले उनको तस्वीर खिचेर सामाजिक संजालमा सार्वजनिक गरेको थियो । उनको परिवारका अनुसार दिव्या मात्र होईन बस्तीका अन्य साना बालबालिकाहरु पनि दिउँसो खाजा खान पाउने आशामा विद्यालय पुग्छन् ।

विद्यालयले समेत यस कुराको स्वीकार गरेको छ । विद्यालयका शिक्षकहरुका अनुसार विद्यालयमा तयार हुने खाजा बाँकी रहेमा विद्यालयमा भर्ना नभएका बाहिरी बालबालिकाहरुलाई बाँढ्ने गरिएको छ ।

बस्तीमा दिवासेवा केन्द्र नभएको कारणले पनि समस्या भएको स्थानीयहरु बताउँछन् । अविभावकहरु सानासाना बालबालिकाहरुलाई घरमै छोडेर काममा जानु पर्ने हुँदा उचित हेरचाह हुन नसकेको उनिहरुको भनाई रहेको छ । गुनासोपछि त्यहाँको स्थानीय सरकारले चाँडै नै दिवासेवा केन्द्र सुचारु गर्न लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दिव्या विद्यालय जान थालिसकेकी छिन् । तस्वीर र वास्तविकता जस्तो भएपनि उनले विद्यालयमा भर्ना भएर शिक्षा लिन पाएकी छिन् ।

Trending News