प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’

diyopost.com
Diyo post  सोमबार, मंसिर १७, २०७५ | ७:५२:१९

काठमाडौं, मंसिर १७ ।अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ। विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधै प्रधामन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरका अनुसार वार रुम तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’ मार्फत संवाद गर्न सक्नेछन्। त्यस्तै विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य सानाठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वार रुमको व्यवस्था गर्न लागिएको हो। उनका अनुसार वार रुम तयार पार्न तीनवटा कम्पनीसँग प्रस्ताव मागिएको छ। ‘राष्ट्रिय प्राथमिकतामा रहेका आयोजनाको ‘टेलिप्रिजेन्ट’ मार्फत अनुगमन गरी त्यहाँ देखिएका समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालयका मन्त्री र सचिवसँग वार रुमबाट समन्वय गर्ने योजना छ’, प्रवक्ता कुँवरले भने।

तत्काल ११ वटा आयोजनालाई लक्षित गरिएको उनको भनाइ छ। उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना वा सरकारले प्राथमिकतामा राखेर अघि बढाएका योजनाको अनुगमन र तत्कालै एक्सनमा जान वार रुम बनाउन लागिएको हो। वार रुम नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहनेछ। वार रुम बनाउन हामीले केही कम्पनीसँग प्रस्ताव मागेका छौं।’ हाल नतिजा व्यवस्थापन महाशाखा सचिव केदारबहादुर अधिकारीले हेर्ने गरेका छन्। सोही महाशाखाअन्तर्गत स्थापना गरिएको ‘तत्काल समस्या समाधान केन्द्र’ ले सरकारले प्राथमिकतामा राखेका विकास निर्माणसम्बन्धी आयोजना र तत्काल आइपर्ने समस्या समाधानलगायत महŒवपूर्ण विषयमा प्रत्यक्ष संवाद गरी निर्णयमा पुग्न सहयोग पुग्ने गरी ‘वार रुम’ को अवधारणा अघि बढाएको प्रवक्ता कुँवरको भनाइ छ। उनका अनुसार वार रुममा ह्वाइट बोर्ड, चार्टलगायत हेर्नुपर्ने आयोजनाका सबै रिपोर्ट राखिनेछन्। ‘समाधान हुन नसकेका विषय प्रधानमन्त्रीको तहबाटै सम्बोधन हुँदा सन्देश राम्रो जान्छ र काम पनि छिटोछरितो तरिकाले अघि बढ्छ’, उनले भने। उनका अनुसार तत्काल यो रुम सहसचिवस्तबाट सञ्चालनमा आउनेछ। त्यसका लागि आवश्यक कानुनको समेत मस्यौदा भइसकेको छ।

के हो ‘वार रुम’
वार रुम खासगरी सेनाले युद्धका समयमा बढी प्रयोग गर्छ। यसका लागि सैनिक मुख्यालयमा एक कोठा हुन्छ, जहाँ नक्सामै युद्धरत क्षेत्र र सैनिकको तत्कालको स्थिति देखाउने उपकरण जडान गरिएको हुन्छ। युद्धका बेला यो रुममा बसेर सेनाका अधिकारीले आवश्यक रणनीति पनि बनाउँछन्। दोस्रो विश्वयुद्धमा शक्तिशाली राष्ट्रहरूले प्रयोग गरेको वार रुमलाई समय क्रमसँगै सरकारी र निजी क्षेत्रले पनि अभ्यासमा ल्याएका छन्।

प्रशासनिक क्षेत्रमा वार रुम परियोजना व्यवस्थापन र तत्काल समस्या समाधानका लागि प्रयोगमा ल्याइन्छ। वार रुममा बहुमूल्य भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरण राखिन्छ। वार रुमलाई एक राजनीतिक कमान्ड केन्द्रका रुपमा पनि बुझिन्छ। चुनावका बेला उम्मेदवारले पनि यसको प्रयोग गर्छन्। चुनावी रणनीतिकर्ता र मिडिया अधिकारीले निरन्तर यसलाई उपयोग गरिरहेका हुन्छन्। अहिलेको वार रुममा प्रविधिसँगै विभिन्न क्षेत्रका विषयविज्ञ रहन्छन्। राजनीतिक विश्लेषक तथा फोटो तथा भिडियोका लागि क्यामेराम्यानलगायत विज्ञको टिमले सहयोग गर्न सक्छ।

पछिल्लोपटक यस्तो रुमको प्रयोग बाराक ओबामाले गरेका थिए। सन् २००८ को राष्ट्रपति चुनावका क्रममा ओबामाले व्यवस्थित वार रुम चलाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वार रुम प्रयोगमा ल्याएका छन्। मोदीले वार रुमलाई विकास निर्माणसँग जोडेका छन्। नेपालमा पनि त्यसकै अनुसरण गर्न खोजिएको छ । सोमबारको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर