मन्त्रिपरिषद् छलेर अवार्ड : सम्मेलन गराउन तीन दिन होटलमै बसेर सहयोग गरेकाेमा बक्सिसजस्तो !

दियो पोस्ट  

यो अवार्ड पुरस्कार नभई सम्मेलन गराउन तीन दिन होटलमै बसेर सहयोग गरेकामा बक्सिसजस्तो हो

प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।

संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, उपाधि वा विभूषण लिँदा मन्त्रिपरिषद्को पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

ओलीले यूपीएफको १ लाख अमेरिकी डलर राशिको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ लिँदा आफ्नै नेतृत्वको मन्त्रिपरिषद्लाई जानकारीसमेत नगराएको स्रोतले बतायो ।

संविधानको धारा २७७ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न नहुने व्यवस्था छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई अम्बेडकर पुरस्कार ग्रहण गर्नका लागि भारत जान पूर्वसहमति दिएको थियो । तर त्यो र त्यसअघिका बैठकमा प्रधानमन्त्रीले पाउने पुरस्कारबारे कुनै जानकारी नगराइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज र उपहारसम्बन्धी निर्देशिकाले आफ्नो कामसँग असम्बन्धित संस्थाको कार्यक्रममा सहभागी हुन, उपहार लिन र त्यसको प्रायोजनमा भ्रमण गर्न रोक लगाएको छ ।

प्रधानमन्त्री ओलीले कोरियाली विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनको हातबाट उक्त अवार्ड लिएका हुन् ।

निर्देशिकामा सार्वजनिक पद धारण गरेकाहरूले आफ्नो सरोकार नभएका संघसंस्था, ठेकेदार, निजी कम्पनी र स्वार्थ बाझिने संस्थाबाट प्रायोजन भई प्राप्त उपहार ग्रहण गर्न र विदेश भ्रमणमा जान प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले विदेश भ्रमणमाजाँदा प्राप्त गर्ने उपहार शिष्टाचार महापालमार्फत मात्रबुझ्ने र स्वदेश फर्केपछि सरकारलाई बुझाउने व्यवस्थासमेत निर्देशिकामा छ । अवार्ड पाउनासाथ प्रधानमन्त्री ओलीलेपुरस्कार रकम युवा तथा बालबालिकाको हितमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

अन्तर्राष्ट्रिय रूपमै प्रतिष्ठित संस्थाले जुरी राखी प्रक्रिया पुर्‍याएर दिनेबाहेक हचुवाका भरमा दिइने पुरस्कार प्रधानमन्त्री या सार्वजनिक पदमा रहेका कसैले पनि लिन नहुने पूर्वमुख्य सचिव विमल कोइराला बताउँछन् ।

‘प्रधानमन्त्रीले पाएकोअवार्ड पुरस्कार नभई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलन सम्पन्न गराउन तीन दिन सोल्टी होटलमै बसेर सहयोग गरेकामा दिएको बक्सिसजस्तो मात्र हो र त्यसले सरकार प्रमुखको मर्यादालाई धूमिल गराएको छ,’ उनले टिप्पणी गरे, ‘काठमाडौंमा सम्मेलन गर्दा तपाईंले सहयोग गर्नुभयो । सम्मेलनका लागि ल्याएको पैसा बाँकी रह्यो, तपाईं नै लिनोस् भनेर दिएजस्तो भयो । यस्तो पनि पुरस्कार हुन्छ ?’ मंगलबारको कान्तिपुर दैनिकमा खबर छ ।