काठमाडौं भ्युटावरका ठेकेदार कालोसुचिमा, कर्जा चुक्ता गर्ने ३५ दिने अल्टिमेटम

Diyo post  

काठमाडौं, मंसिर १९ । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको कम्पनी ईन्नोभेटिक कन्सेप्ट नेपाल प्राईभेट कम्पनीका संचालक मनोज कुमार भेटवाल फेरी कालोसुचिमा परेका छन् ।

यसअघि एनसीसी बैंकको समेत कारबाहीमा परेका ग्लासियर फर्मास्युटिकल्स प्रालिका संचालक भेटवाललाई अबको ३५ दिनभित्र ब्याज सहित कर्जा चुक्ता गर्न गुडविल फाईनान्स लिमिटेडले ताकेता गरेको हो ।

भेटवालले मासिक सावाँ र ब्याज समेत नतिरेकोले ३५ दिने म्याद दिईएको गुडविलले जनाएको छ । उनले ऋण लिँदा गरेका सम्पूर्ण सर्त नमानेका गुडविलले निकालेको सुचनामा भनिएको छ । बैंकको पैसा नतिरेपछि मंसिर १९ गते प्रकाशित आर्थिक दैनिमा बैंकले ताकेता सहितको सुचना निकालेको छ ।

३५ दिनभित्र कर्जा चुक्ता नगरे के हुन्छ ?
पटक–पटक ताकेता गर्दा पनि भेटवाल गुडविल फाईनान्सनको सम्पर्कमा आएनन् । ऋण चुक्ता गर्न कुनै चासो नदेखाएपछि ३५ दिनभित्र चुक्ता गर्ने समय दिईएको हो । यो ३५ दिनभित्र पनि भेटवाल ऋण चुक्ता गर्न नआएमा राखिएका सम्पूर्ण धितो लिलाम हुनेछ ।

भेटवालबाट धितो असुल उपर हुन नसकेमा भेटवाल र जमानीकर्ताको चल अचल जायजेथा समेत असुल गरिनेछ । धितो असुल गरेसँगै भेटवाल नेपाल राष्ट्र बैंकको कर्जा सुचना केन्द्र लिमिटेडको कालोसुचीमा पर्नेछन् ।

धितो के के हुन ?
काठमाडौंको काठमाडौं महानगरपालिका १६ बनस्थलीमा संचालन भैरहेको ग्लासियर फर्मास्युटिकल्स प्रालिको नाममा चितवनको विरेन्द्रनगरमा रहेको कित्ता नं. १६३, १६५, १६४ र १ ४९६ को जग्गा लिलामी हुनेछ । ३५ दिनभित्र कर्जा चुक्त नभए भक्तपुरको कटुन्जेका नरेन्द्रकुमार श्रेष्ठ र रविन्द्र श्रेष्ठको नाममा रहेको संयुक्त जग्गा कटुञ्जे ९÷ख का कित्ता नं. ५५४, ५५५ र ७२९ को जग्गा पनि लिलामी गरिनेछ ।
यसअघि एनसीसी बैंक, एनआईसी एसिया बैंक र प्रभू बैंकले समेत भेटवाललाई कालोसुचीमा राखेको थियो ।

प्रभु बैंकले भेटवालको नाममा रहेको झापा सुरुङगाको कित्ता नम्बर ७३९ र २८८८ को एक रोपनी ५ दाम र २ रोपनी ७ आना ५ दाम जमिनमा रहेको घर समेत लिलामीका लागि १५ दिने सूचना निकालेको छ । त्यस्तै, बैंकले सोही स्थानको कित्ता नम्बर १५३२ मा रहेको १९ आना १२ दाम जमिन र त्यसमा रहेको घर समेत लिलामी गर्न सूचना प्रकाशित गरेको हो ।

यस अघि भेटवालले एनसीसी बैंकबाट लिएको ऋण तिर्न नसकेपछि एनआइसी एसिया बैंकले इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालीको चल अचल सम्पति लिलामी गरिसकेको छ । त्यस्तै, एनसीसी बैंकले पनि भेटवालकै नाममा झापको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२।६३ वर्ग मिटर जमिन लिलामी गरिसकेको छ ।

काठमाडैं टावर निर्माण के हुँदै छ ?
काठमाडौं टावर निर्माण आरम्भ गर्ने भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारेको थियो । हाल बस पार्कमा स्काभेटरले खन्ने काम गरिरहेको छ भने केहि टिप बालुवा पनि झारिएको देख्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ साल कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले टावरको शिलान्यास गरेका थिए ।

सम्बन्धित खबर