मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन् : प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’

प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन्। उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।’

‘सरकारकै भत्ता खाने, पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताको वास्ता नगर्ने प्रवृत्ति अर्काे रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्ता प्रवृत्ति अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने खालको आफूले देखेको बताए।

आफूले हालै एसिया प्यासिफिक सम्मेलनमा यूनिभर्सल पिस फेडेरेसनका तर्फबाट प्राप्त सम्मानलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यो त किनेको जस्तो, पारिश्रमिकजस्तो भन्दै अत्यन्तै अपमानजनक ढंगले आएको छ। त्यसको म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु, जवाफ दिउँ ?’

निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्री ओली र सरकारको विभिन्न क्षेत्रबाट व्यापक आलोचना हुँदै आइरहेको छ। पछिल्लोपटक काठमाडौमा सम्पन्न एसिया प्यासिफिक सम्मेलन र उनलाई प्रदान गरिएको सु–शासन पदकलाई दिएर पनि उनको आलोचना हुँदै आइरहेको छ।

उनको भूमिकालाई दिएर कतिपय बुद्धिजीवीले पनि टिकाटिप्पणी गरेका थिए। त्यसै प्रसंगलाई लिएर प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्नेबारे पनि आफूलाई जानकारी रहेको भन्दै आफूले जवाफ दिँदा थला पर्नेगरी दिनसक्ने बताएका हुन्।