महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।
सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।
रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो । यहि कुरालाई मध्यनजर गर्दै दियो पोस्टले आफ्नो नियमित साप्तहिक स्तम्भ ‘महिनावारी बहस’ सुरु गरेको छ ।
सिन्धुपाल्चोक, मेलम्ची नगरकी १९ वर्षीया करिना पुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन् । प्रतिनिधिहरूबीच पनि सर्वाधिक मत ल्याएकी उनी पार्टीको महासमिति सदस्य बनेकी छन् । नेशनल कलेजमा कानुन संकाय र आरआर क्याम्पसमा अध्ययनरत पुरीसँग दियोपोस्टले ‘महिनावारीका कुरा’ गरेको छ ।
रातो रङ्ग र म :
लगातार पेट दुखिरहेको छ । विद्यालय जाने समय भयो । हिजो के खाए र आज यसरी अचानक पेट दुखिरहेको छ ? यसो सम्झिपएँ, केही खाएको छैन ।
एकछिन बसेको उठ्दा पुरै रातो छ । अब के गर्ने होला ?
‘महिनावारी पो भएछु ।’
‘आमा, हेर्नु न म महिनावारी भएँ ।’
‘लौन हो र ? भित्र बस खुरुक्क । दाजु भाइलाई हेर्न हुन्न । पख्, उता गोठमा सफा गर्दिन्छु ।’
एकछिनमा आमा फेरि कराउँदै आइपुग्नुभयो, ‘हिँड् अब बाहिर ननिस्केस् । केही परे बोलाउनु मलाई ।’
गाई बाँध्ने गोठकोमाथि थिएँ म । सुनसान, अन्धकार कोठा । मलाई १३ दिन यही बिताउनु थियो । घाम नहेरी । कपाल पनि नकोरी । घरी सुत्ने, घरी कोठाको चारैतिर बन्दी जसरी घुमिरहने । १३ दिन मेरो लागि १३ वर्ष जस्तो थियो ।
पतर पतर बोलिरहने मुखमा कसैले टेप बाँधे जस्तो । हिजोसम्म खेल्दै हिँड्दै गरिरहेकी मेरो अचानक हात खुट्टा बाँधे जस्तो । कुनै जघन्य अपराध गरेर आएको कैदी जस्तो अनुभव गर्दै थिएँ । मन नराम्रा-नराम्रा सोचहरूले भरिएको थियो । कोहीसँग बोल्न पाए, कोही साथी भइदिए जस्तो लाग्दै थियो ।
१३ दिन मलाई १३ वर्षझैँ लागेको थियो । बाहिर निस्किदा लगाइदिने रातो टीका र रातो कुर्था देख्दा पनि तर्सिन थालेको थिएँ ।
चिच्चाएर भन्न मन थियो, “मलाई रातो रङ्ग मन पर्दैन ।” तर भनिन ।
छक्क परें, आमाले ल्याइदिएको त्यो आमाले लगाउने जस्तै ब्रा समिज देखेर । म पनि यही मेरो शरीरको अङ्गबाट निस्कने रातो रगतले आमा जस्तै ठुली भएँ क्यारे भन्ने लाग्यो । मलाई यति छिटो ठुली हुन मन थिएन ।
आमाले जबरजस्ती गर्दै भन्नुभयो, “जा, यो ब्रा र समिज लगाएर आईजो ।’ अटेर गर्दै भित्र गएँ र लगाए पनि । तर, मलाई केही लाजहरूले बाधे झैँ लाग्दै थियो । समाजको कथित जिम्मेवारी र कुप्रथा गिद्धे नजरले बन्धक बनाए झैँ लाग्दै थियो । तर, म केही बोलिन । चुपचाप बाहिर निस्किए, सकस गर्दै ।
आमा पहिले भन्दा बढी मलाई लिएर सतर्क हुनु भाथ्यो । यतिसम्मकि अब म खेल्न जान समेत बन्द भइसकेको थियो । म राती घाम नअस्ताउँदै घर पुग्न पर्थ्यो, नत्र मेरो इन्टरभ्यु सुरु हुन्थ्यो ।
कति ठाडो परेर हिँडेकी ? छाती देखियो ।
कति बोलेकी ? पोथी बासेको राम्रो हुन्न ।’
लाग्थ्यो, यहि रातो रङ्गले मलाइ बन्धक बनायो । मेरो खेल्ने बोल्ने अधिकार खोस्यो ।
समय बित्दै गर्यो । समयसँगै म यी सबै कुराहरूलाइ लिएर परिपक्व बन्दै गएँ तर रातो रङ्ग मन पर्दैन थियो । आजकल पनि यही रातो रङ्गले पेटमा धेरै दु: ख दिइरहन्थ्यो । महिनाको चार दिन सुत्न मात्र मन लाग्ने, रिस उठ्ने भइरहन्थ्यो ।
एकदिन,
म बिहान कलेज जाँदा पेट धेरै दुख्यो । कलेजमा सेनेटरी प्याडको व्यवस्था थिएन । म पसल गएँ । मसँग जम्मा ५० रुपैयाँ थियो । त्यो पनि खाजा खान दिएको पैसा । तर, प्याडको मूल्य ७५ रुपैयाँ थियो । अरू प्याड पनि थिए तर राम्रो थिएन । मलाइ असाध्यै बिल्डिङ हुन्थ्यो, सोहीकारण जुन पाए त्यै प्रयोग गर्दिन थिएँ ।
त्यो दिन ५० रुपैयाँको प्याड किनेँ । मसँग खाजा खाने र घर जाने पैसा भएन । प्याड नकिन्नु भन्दा भोकै बस्नु मेरो लागि उचित थियो ।
विस्तारै बुझ्दै गएँ, सेनेटरी प्याडमा लगाइएको करकै कारण प्याडको मूल्य बढीरहेको रहेछ । यसै कुरालाई लिएर भारतमा चलेको अभियान अनि प्याड म्यान फिल्म हेरेपश्चात मैले धेरै कुरा बुझें ।
हामी महिनावारी देखि लाज मान्छौँ । हामीले होइन, लाज त महिनावारी जस्तो प्राकृतिक कुराको लागि अति आवश्यक सामग्रीमा कर लगाउनेले मान्नु पर्छ ।
अब म रातो रङ्गसँग लड्न सक्छु । मलाइ कुनै लाज छैन । म हिजो गलत थिएँ, अब मलाई रातो रङ्ग मन पर्न थालेको छ ।
अब हामीले लाज मान्ने होइन, निर्धक्क आफ्नो आवाज उठाउन सक्नु पर्छ । हाम्रो अति आवश्यक सेनेटरी प्याडमा लागेको करबारे एउटै आवाज बनेर आफ्नो अधिकारको लागि लड्नुपर्छ ।
यो पनि पढ्नुहोस्;
रेशम पत्नी रञ्जिता भन्छिन्- १२ दिनसम्मको लागि म आफ्नै घरमा अछुत भएँ
प्याड महंगो भए ‘धोतीको टालो हाल्’ भन्नेजस्तो व्यवहार सरकारले देखाइरहेको छ