कागमा बर्डफ्लु पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाद्वारा ७ बुँदे ‘इमर्जेन्सी’ सूचना जारी (पूर्ण पाठसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौँ, १० चैत ।काठमाडौँको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरअन्तर्गत कीर्तिपुरको जंगल क्षेत्रमा एक महिनायता मृत भेटिएका कागहरूमा बर्डफ्लु पुष्टि भएको छ । प्रयोगशाला परीक्षणमा घातक संक्रमण प्रमाणित भएलगत्तै कीर्तिपुर नगरपालिकाले विशेष सूचना जारी गर्दै नगरबासीहरूलाई उच्च सतर्कता अपनाउन र तोकिएका निर्देशनहरू पालना गर्न अपिल गरेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद निरौलाद्वारा जारी सूचनामा बर्डफ्लु (H5N1) जुनोटिक (पन्छीबाट मानिसमा सर्ने) रोग भएकोले सबै सरोकारवालाहरूलाई सचेत रहन भनिएको छ ।

त्रिवि परिसरमा ठूलो संख्यामा काग मृत फेला परेपछि ‘दियोपोस्ट’ले यस विषयमा निरन्तर समाचार तथा फलोअप प्रकाशित गर्दै आइरहेको थियो ।

नगरपालिकाले जारी गरेको ७ बुँदे निर्देशन:

१. ओसारपसारमा रोक: प्रभावित क्षेत्रबाट पन्छी, अण्डा, मासु, सुली, दाना र उपकरणको ओसारपसार अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ ।

२. अनिवार्य जानकारी: पन्छीहरू असामान्य बिरामी परे वा अचानक मृत्यु भएमा तुरुन्त पशु विकास शाखामा जानकारी गराउनुपर्नेछ ।

३. कृषकहरूका लागि सतर्कता: कुखुरा पालक कृषकहरूले फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने र प्रवेश/निस्किने स्थानमा डिसइन्फेक्टेन्ट (चुना, फिनेल, सेनिटाइजर, फर्मालिन, साबुन पानी) को अनिवार्य प्रयोग गर्ने/गराउने ।

४. सम्पर्कबाट बच्ने: सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा/पन्छी नछुन र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।

५. सुरक्षित व्यवस्थापन: संक्रमित वा संकास्पद मृत कुखुरा/पन्छीहरूलाई सुरक्षित व्यवस्थापनसम्बन्धी मापदण्डअनुसार नष्ट गरिनेछ ।

६. अनुगमन: स्थानीय बजार र कुखुरा पसलहरूले सम्बन्धित निकायबाट गरिने अनुगमन र निर्देशनको अनिवार्य पालना गर्नुपर्नेछ ।

७. सहयोगको अपेक्षा: रोगको संक्रमण पन्छी र मानव दुवैमा हुने भएकाले यसको नियन्त्रणमा सम्पूर्ण नगरबासीको सहयोगको अपेक्षा गरिएको छ ।

पशु सेवा विभागले संकलित नमुनाको प्रयोगशाला परीक्षण गर्दा कागहरूमा बर्डफ्लु (H5N1) संक्रमण पुष्टि भएको हो । विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार, विशेषगरी त्रिविको रसायन शास्त्र केन्द्रीय विभाग आसपासको क्षेत्रमा मृत कागहरू बढी भेटिएका छन् ।

दियोपोस्टसँग कुरा गर्दै डा. श्रेष्ठले  भने, “केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको टोलीले संकलन गरेको नमुनामा बर्डफ्लु पुष्टि भएको हो । जंगली चराहरूलाई नियन्त्रण गर्न कठिन हुने भएकाले अहिले हाम्रो प्राथमिकता मृत कागहरूको उचित व्यवस्थापन र संक्रमण फैलिएको क्षेत्रलाई नि:संक्रमण (Disinfection) गर्नेमा छ ।”

उनका अनुसार विभागले नगरपालिकालाई आवश्यक पर्ने चुन, पीपीई (PPE) सेट, मास्क, र गगल्स लगायतका सामग्री उपलब्ध गराइरहेको छ । “संक्रमित कागहरू उडेर अन्य ठाउँमा पुग्ने हुनाले जोखिम कायम रहन्छ, तर मानिसहरूको आउजाउलाई नियन्त्रण गर्न सकेमा संक्रमण फैलिनबाट धेरै हदसम्म जोगाउन सकिन्छ । यो हावाबाट नै सर्ने भन्ने होइन,” डा. श्रेष्ठले थपे।

कीर्तिपुर नगरपालिकाका प्रवक्ता दिवाकर अधिकारीका अनुसार मृत भेटिएका कागहरूको व्यवस्थापनका लागि टोली खटाइएको छ । जीवित कागहरूमा संक्रमण फैलिन नदिन मरेका कागलाई सुरक्षित तरिकाले गाड्ने काम भइरहेको उनले बताए । अहिले पनि त्रिवि वरपरको जंगल क्षेत्रमा मृत कागहरू बाक्लै देखिने गरेको र ती कागको व्यवस्थापनमा नगरपालिकाले पहल गरिरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

त्यस्तै, नगरपालिकाको वातावरण शाखाले पनि पशु सेवा शाखासँग समन्वय गरेर मृत कागहरूको व्यवस्थापन गर्ने तयारी तीव्र पारेको छ ।

पछिल्लो एक महिनायता त्रिवि परिसरमा कागहरू शंकास्पद रूपमा मरेको विषयमा ‘दियोपोस्ट’ ले प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो । प्रारम्भिक समाचारपछि नै पशु सेवा विभाग र कीर्तिपुर नगरपालिकाले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका थिए ।

यही चैत ६ गतेको निर्णयअनुसार प्रभावित क्षेत्रमा बायो-सिक्युरिटी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयलाई समेत यसबारे जानकारी गराइसकेको छ ।