चितवन, ७ चैत । नारायणगढ–मुग्लिन सडकखण्डको चन्डिभञ्ज्याङ गाउँ विकास समिति वडा नं ५ खहरे खोलामा आज बिहान ट्रकलाई पछाडि आउन इशारा दिँदै गर्दा ट्रकका सहचालक सडकबाट भिरमा खस्दा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७७३९ नंको ट्रकका सहचालक चन्द्रनिगाहपुर–१, रौतहटका २३ वर्षीय सूर्य लामा भिरमा खसेर बुट्यानमा अड्किएका थिए ।
बिहान ४ः१५ बजे घटना भएपछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीको टोलीले उद्धार गरेको थियो । गम्भीर अवस्थामा उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बीस दिनअघि सोही ठाउँमा बसका सहचालक खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।