सीमा सुरक्षा अधिकारीबीच सहमति

दियो पोस्ट  

भीमदत्तनगर, १२ चैत । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध तथा चोरी सिकारी नियन्त्रणमा आवश्यक समन्वय गर्न दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच मानव बेचबिखन, लागुऔषध तथा चोरी सिकारी नियन्त्रण, सीमा स्तम्भ संरक्षण एवम् सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति भएको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले आयोजना गरेको बैठकमा सीमा पिलर संरक्षण र सीमा अतिक्रमण रोक्न दुवै सुरक्षा निकायबीच आवश्यक समन्वय गर्ने विषयमा सहमति भएको सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले जानकारी दिए।

उनले भने “अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न पनि सूचना आदानप्रदान गर्ने सहमति पनि भएको छ ।”

बैठकमा सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका साथै एसएसबीको पलिया–३९ बटालियनका एसबी शेर खानलगायत सुरक्षा अधिकारीको सहभागिता थियो ।