काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम बनाएको ‘फेक रेस्क्यु’ धन्दाबारे ‘चयनमूखि अभियोजन’ गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्ले ‘कारबाही’ मा परेका छन् ।
उनलाई कारबाही स्वरुप महान्यायधिवक्ता कार्यालयमा तानिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) करिब २ महिना लामो अनुसन्धान गरि ११ जना पक्राउ प्रतिवादीसहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौंले ३३ जनामध्ये ३२ जनालाई मुद्दा चलाएर यो धन्दाको मुख्य ‘मास्टर माइन्ड’ को रुपमा रहेका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक तथा उड्डयन क्षेत्रका विज्ञ, उद्यमी मात्रै होइनन् नेपाल सरकारबाट गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिका सदस्य रहेका राजेन्द्र बहादुर सिंहलाई उन्मुक्ति दिएको थियो

सरकारी वकिल कार्यालयले पेश गरेको अभियोग पत्रमा नै सिंहमाथि आपराधिक गतिविधि गरेको पुष्टि भएको उल्लेख गरिएको थियो । तर, सरकारी वकिल कार्यालयले नै गरेको ठहर विपरित प्रतिवादीको सूचिबाट उनको नाम गायब पारी लाभ नलिएको भन्दै उन्मुक्ति दिइएको थियो । काफ्लेले फेक रेस्क्यु सम्बन्धी अभियोजन कम्जोर बनाएको सुचना प्रधानमन्त्री कार्यालयसम्म पुगेपछि उनलाई कामकाजका लागि भन्दै महान्यायधिवक्ता कार्यालय तानिएको छ ।
सकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा अडियो कुराकानीकै आधारमा सिंहले अपराध गरेको पुष्टि भएको दाबी गरेको थियो ।
‘उक्त अडियो कुराकानीबाट प्रतिवादी राजेन्द्र बहादुर सिंहले तथ्यांक वा प्रमाण लुकाउन र अनुसन्धानलाई प्राभावित पार्न निर्देशन दिई आपराधिक समूहका लागि आपराधिक समुहसँग मिलेर आपराधिक काम कारबाहीमा सहभागी हुने सघाउ पुर्याउने, प्रमाण संकलनमा अवरोध गर्ने र प्रमाण लुकाउनको लागि दबाव दिने अवरोध गरी आपराधिक साँठगाँठ गरेको पुष्टि भएको’ भनि ठहर गरिएको छ ।
अभियोग पत्रकै अर्को बुँदामा अडियोमा भएको विषयलाई सुनियोजित षडयन्त्रमा सामेल भएको भनेर समेत ठहर गरिएको छ । ‘उक्त अडियोमा प्रयोग भएको ‘हाम्रो मार्केट सेयर र हामीले जे चलनचल्ती गर्यौं’ भन्ने वाक्यांशले व्यावसायीक सिमाना नाघेर साझेदारी झल्काएको, फरार प्रतिवादी कँडेलसँगको संवादमा डाइनेस्टी लगायत अरुलाई पनि डाटा दिनु हुँदैन भन्नु पर्छ । क्यानलाई पत्र लेखेर रेस्क्युको डाटा नै छैन भनिदिन्छु’ भनेबाट अनुसन्धानको प्रमाण नष्ट गर्ने र राज्यको नियामक निकायलाई नै गलत सुचना दिई आपराधिक समुहसँग मिलेर आपराधिक काम कारबाहीमा सहभागी हुने, सघाउने, प्रमाण संकलनमा अवरोध तथा प्रमाण लुकाउने, प्रमाण नष्ट गर्ने योजना तथा भ्रमित पार्ने सुनियोजित षडयन्त्र गरेको देखिएको’ भनि ठहर गरेको छ ।
अर्को बुँदाले भने त्यसलाई आपराधिक योजना भनएको देखिएको र तथ्य लुकाएर राष्ट्रहित विरुद्धको कसुर गरेको थप ठहर गरेको छ ।
अडियोकै अर्को कुराकानीलाई सरकारी वकिल कार्यालयकै प्रतिवेदनले अनुसन्धानलाई प्रभावित पार्न संचार माध्यममा खबर लेखाएको समेत ठहर गरेको छ । ‘प्रतिवादी राजेन्द्र बहादुर सिंहले ‘यो चाहिँ अब म नै आर्टिकल लेखेर मिडियामा चाहिँ नागरिक दैनिकमा आर्टिकल निकाल्नु पर्यो, न्युज के । बुझ्नु भयो नि ? मलाई यो ईन्फर्मेशनहरु दिनु, हैन । आइतबार सोमबार तिर म नै एउटा न्युज निकाल्न लगाउँछु के सबनद्या पहिला, त्यो पनि गर्नु पर्यो । अनि अब उप्रान्त चाहीँ हामी रेस्क्यु भन्दै नभन्ने के श्यामजी । हाम्रो चार्टर हो । हेलिकोप्टरले त भन्दै भन्दैन, तपाईंहरुले पनि रेस्क्यु नभन्ने भनी अर्को संवादकर्ता प्रतिवादी श्यामसुन्दर कँडेलसँग कुरा गरी नागरिक दैनिक वर्ष अंक २६७ सोमबार १२ माघ २०८२ मुख्य पृष्ठमा ‘पर्यटनको प्रतिवेदन एकातिर सिआईबीको अनुसन्धान अर्कैतिर’ भन्ने शिर्षकमा आर्टिकल लेख्न लगाई अनुसन्धानलाई प्रभावित पार्ने र आफ्नो अनुकुलमा आर्टिकल समेत लेखाई राज्यको अनुसन्धान गर्ने निकायको उपहास गर्नु र अनुसन्धान प्रक्रियामा रहेको कसूरको सम्बन्धमा आफु अनुकुल समाचार प्रकाशन गर्नु गराउनु कानुनको शासन विरुद्धको चुनौती तथा आपराधिक समुहको लागि आपराधिक समुहसँग मिलेर संगठित अपराध गर्न सघाउ पुर्याउने तथा अनुसन्धानलाई प्रभावित पार्न खोजेको पुष्टि भएको’ भनि लेखिएको छ ।
यसैलाई पुष्टि गर्नेगरी सिंहले नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई समाचार लेखिदिन आग्रह गरेको समेत स्विकार गरेका छन् । दियोपोस्टले सिंहले लुइँटेललाई पठाएको म्यासेजको स्क्रिन सर्टसहितको समाचार सार्वजनिक गरिसकेको छ ।
अभियोग पत्र अनुसार सिंहले आफूले प्रयोग गर्ने मोबाइल नम्बर ९८५१०३२९९४ बाट ह्वाट्स एप नम्बरमा राम केसी भनेर सेभ भएपनि प्रतिवादी श्याम कँडेलले चलाउने ९८०१७०६८०९ नम्बरमा पटक पटक सीआईबाट कँडेललाई संगठित अपराध मुद्दाको जानकारीका लागि दिएको जानकारी पत्र नै पठाएको र अनुसन्धानलाई प्रभावित पार्न सेटिङ गरेको पुष्टि ठहर सरकारी वकिल कार्यालयले नै गरेको छ ।
त्यस्तै सिंहले कँडेलको मोबाइल नम्बरमा ‘श्यामजी आजदेखि रविन्द्र सिलवाल क्यानको बोर्ड डाइरेक्टर हो है …. आज एपोइन्टमेन्ट लिनु भयो । ६ महिना लाग्यो मलाई यो गराउन भनि म्यासेज समेत पठाएको देखिएको छ । उनले नियामक निकायमा आफू अनुकुल मानिस नियुक्ती दिलाएर संगठित रुपमा उद्दार कम्पनिसँग आपराधिक मिलेमतो गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अपमान, हुने होच्याउने वा घृणा वा द्ेष फैलाउने काम गरी राष्ट्रहित प्रतिकुल कार्य गरेको पुष्टि भएको तथा नेपाल नागरिक उडयन प्राधिकरणको आन्तरिक टर्मिनल शाखाले हेलिकोप्टर कम्पनिलाई लेखेको पत्र र सीआईबी पक्राउ गरेको रविन्द्र अधिकारीबारेको प्रेस वक्तव्य समेत पठाएको अभियोग पत्रमै उल्लेख छ ।
तर, अपराध पुष्टि भएको भनि किटान गरिएको अभियुक्त सिंहलाई सरकारी वकिल कार्यालयले उन्मुक्ति दिँदै अभियोग पत्र पेश गरेपछि ‘चलखेलको आरोप लागेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्ले र जिल्ला न्यायधिवक्ता गोविन्द प्रसाद हुमागाइँको चलखेलको आधारमा सिंहलाई उन्मुक्ति दिइएको भन्दै दियोपोस्टले समेत समाचार प्रकाशन गरेको थियो । काठमाडौंबाट प्रकाशित आर्थिक दैनिकले त मुद्दा कमजोर बनाउनका फरार रहेका केही अभियुक्तबाट ३५ करोड रुपैयाँ उठाइएको समेत दाबी गरिएको थियो ।
सीआईबीले चलाएको मुद्दा स्थापित
यसैबीच फेक रेस्क्यु धन्दाबारे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान र सिफारिस गरेको कसुर समेत स्थापित भएको छ । विहिबार जिल्ला अदालत काठमाडौंले हाल पक्राउ परेका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै अब अन्यमाथि समेत छानबीनको बाटो खुलेको छ । ‘अब हामीलाई अन्य ठूला अभियुक्तहरुमाथि पनि अनुसन्धानको बाटो खुलेको छ । हामीले गरेको अनुसन्धानलाई जिल्ला अदालतले आज स्थापित पनि गरिदिएको छ,’ एक उच्च अधिकारीले भने,‘अब फेरी ठूला अभियुक्तहरुमाथि अनुसन्धान जारी रहनेछ ।’
जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगत बहादुर पौडेलको ईजलाशले प्रतिवादीहरु मुक्ती पाण्डे, जयराम रिमाल, सुवास केसी, रविन्द्र अधिकारीबाट जनही ३० लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै गिर्वाणराज तिमल्सिना, विवेक पाण्डे, सन्तोष अधिकारी भन्ने खोमराज अधिकारी, पासाङ शेर्पा र सन्दिप तिवारीबाट जनही ५ लाख रुपैयाँ धरौटी मागेको छ भने विवेक थपलियासँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ ।
फेक रेस्क्यु धन्दा : अभियोग पत्रमा अपराध पुष्टी भएका ‘मास्टरमाइन्ड’ सिंहले कसरी पाए उन्मुक्ति ?