फेक रेस्क्यु धन्दा : अभियोग पत्रमा अपराध पुष्टी भएका ‘मास्टरमाइन्ड’ सिंहले कसरी पाए उन्मुक्ति ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम बनाएको ‘फेक रेस्क्यु’ अर्थात फर्र्जी उद्दार विमा दाबी भुक्तानीबारे दायर भएको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ‘चयनमूखि अभियोजन’ गरेको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) करिब २ महिना लामो अनुसन्धान गरि ११ जना पक्राउ प्रतिवादीसहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । ३३ जनामध्ये ३२ जनालाई मुद्दा चलाएर यो धन्दाको मुख्य ‘मास्टर माइन्ड’ को रुपमा रहेका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक तथा उड्डयन क्षेत्रका विज्ञ, उद्यमी मात्रै होइनन् नेपाल सरकारबाट गठित उच्चस्तरीय अध्ययन एवंक सुझाव समितिका सदस्य समेत हुन् । तर, उनै सिंह हाल फेक रेस्क्यु धन्दामा फरार सूचिमा रहेका श्याम सुन्दर कँडेलसँग नियमित सम्पर्कमा रही तथ्यांक लुकाउन र प्रमाण लुकाउन मात्रै होइन अनुसन्धानलाई प्रभावित पार्न समेत सक्रिय भूमिका निभाएका थिए ।

सरकारी वकिल कार्यालयले पेश गरेको अभियोग पत्रमा नै सिंहमाथि आपराधिक गतिविधि गरेको पुष्टि भएको उल्लेख भएको पाइएको छ । तर, सरकारी वकिल कार्यालयले नै गरेको ठहर विपरित प्रतिवादीको सूचिबाट उनको नाम गायब मात्रै गरिएको छैन । ‘लाभ नलिएको’ भन्दै उन्मुक्ति दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पेश गरेको अभियोग पत्र अनुसार हाल पक्राउ परि प्रहरी हिरासतमा रहेका प्रतिवादी जयराम रिमालको सामसुङ ग्यालेक्सी एसथ्री अल्ट्रा मोबाइलमा मिति २०८२ पुस १७ गते भएको अडियो कुराकानी फेला परेको थियो । उक्त अडियो राजेन्द्र बहादुर सिंह र कँडेलबीचको कुराकानी भएको रिमालले बयानमा खुलाएका छन् ।

‘उक्त अडियो कुराकानीबाट प्रतिवादी राजेन्द्र बहादुर सिंहले तथ्यांक वा प्रमाण लुकाउन र अनुसन्धानलाई प्राभावित पार्न निर्देशन दिई आपराधिक समूहका लागि आपराधिक समुहसँग मिलेर आपराधिक काम कारबाहीमा सहभागी हुने सघाउ पुर्याउने, प्रमाण संकलनमा अवरोध गर्ने र प्रमाण लुकाउनको लागि दबाव दिने अवरोध गरी आपराधिक साँठगाँठ गरेको पुष्टि भएको’ भनि ठहर गरिएको छ ।

अभियोग पत्रकै अर्को बुँदामा अडियोमा भएको विषयलाई सुनियोजित षडयन्त्रमा सामेल भएको भनेर समेत ठहर गरिएको छ । ‘उक्त अडियोमा प्रयोग भएको ‘हाम्रो मार्केट सेयर र हामीले जे चलनचल्ती गर्यौं’ भन्ने वाक्यांशले व्यावसायीक सिमाना नाघेर साझेदारी झल्काएको, फरार प्रतिवादी कँडेलसँगको संवादमा डाइनेस्टी लगायत अरुलाई पनि डाटा दिनु हुँदैन भन्नु पर्छ । क्यानलाई पत्र लेखेर रेस्क्युको डाटा नै छैन भनिदिन्छु’ भनेबाट अनुसन्धानको प्रमाण नष्ट गर्ने र राज्यको नियामक निकायलाई नै गलत सुचना दिई आपराधिक समुहसँग मिलेर आपराधिक काम कारबाहीमा सहभागी हुने, सघाउने, प्रमाण संकलनमा अवरोध तथा प्रमाण लुकाउने, प्रमाण नष्ट गर्ने योजना तथा भ्रमित पार्ने सुनियोजित षडयन्त्र गरेको देखिएको’ भनि ठहर गरेको छ ।

अर्को बुँदाले भने त्यसलाई आपराधिक योजना भनएको देखिएको र तथ्य लुकाएर राष्ट्रहित विरुद्धको कसुर गरेको थप ठहर गरेको छ ।

अडियोकै अर्को कुराकानीलाई सरकारी वकिल कार्यालयकै प्रतिवेदनले अनुसन्धानलाई प्रभावित पार्न संचार माध्यममा खबर लेखाएको समेत ठहर गरेको छ । ‘प्रतिवादी राजेन्द्र बहादुर सिंहले ‘यो चाहिँ अब म नै आर्टिकल लेखेर मिडियामा चाहिँ नागरिक दैनिकमा आर्टिकल निकाल्नु पर्यो, न्युज के । बुझ्नु भयो नि ? मलाई यो ईन्फर्मेशनहरु दिनु, हैन । आइतबार सोमबार तिर म नै एउटा न्युज निकाल्न लगाउँछु के सबनद्या पहिला, त्यो पनि गर्नु पर्यो । अनि अब उप्रान्त चाहीँ हामी रेस्क्यु भन्दै नभन्ने के श्यामजी । हाम्रो चार्टर हो । हेलिकोप्टरले त भन्दै भन्दैन, तपाईंहरुले पनि रेस्क्यु नभन्ने भनी अर्को संवादकर्ता प्रतिवादी श्यामसुन्दर कँडेलसँग कुरा गरी नागरिक दैनिक वर्ष अंक २६७ सोमबार १२ माघ २०८२ मुख्य पृष्ठमा ‘पर्यटनको प्रतिवेदन एकातिर सिआईबीको अनुसन्धान अर्कैतिर’ भन्ने शिर्षकमा आर्टिकल लेख्न लगाई अनुसन्धानलाई प्रभावित पार्ने र आफ्नो अनुकुलमा आर्टिकल समेत लेखाई राज्यको अनुसन्धान गर्ने निकायको उपहास गर्नु र अनुसन्धान प्रक्रियामा रहेको कसूरको सम्बन्धमा आफु अनुकुल समाचार प्रकाशन गर्नु गराउनु कानुनको शासन विरुद्धको चुनौती तथा आपराधिक समुहको लागि आपराधिक समुहसँग मिलेर संगठित अपराध गर्न सघाउ पुर्याउने तथा अनुसन्धानलाई प्रभावित पार्न खोजेको पुष्टि भएको’ भनि लेखिएको छ ।
यसैलाई पुष्टि गर्नेगरी सिंहले नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई समाचार लेखिदिन आग्रह गरेको समेत स्विकार गरेका छन् । दियोपोस्टले सिंहले लुइँटेललाई पठाएको म्यासेजको स्क्रिन सर्टसहितको समाचार सार्वजनिक गरिसकेको छ ।

अभियोग पत्र अनुसार सिंहले आफूले प्रयोग गर्ने मोबाइल नम्बर ९८५१०३२९९४ बाट ह्वाट्स एप नम्बरमा राम केसी भनेर सेभ भएपनि प्रतिवादी कँडेलले चलाउने ९८०१७०६८०९ नम्बरमा पटक पटक सीआईबाट कँडेललाई संगठित अपराध मुद्दाको जानकारीका लागि दिएको जानकारी पत्र नै पठाएको र अनुसन्धानलाई प्रभावित पार्न सेटिङ गरेको पुष्टि ठहर सरकारी वकिल कार्यालयले नै गरेको छ ।

त्यस्तै सिंहले कँडेलको मोबाइल नम्बरमा ‘श्यामजी आजदेखि रविन्द्र सिलवाल क्यानको बोर्ड डाइरेक्टर हो है …. आज एपोइन्टमेन्ट लिनु भयो । ६ महिना लाग्यो मलाई यो गराउन भनि म्यासेज समेत पठाएको देखिएको छ । उनले नियामक निकायमा आफू अनुकुल मानिस नियुक्ती दिलाएर संगठित रुपमा उद्दार कम्पनिसँग आपराधिक मिलेमतो गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अपमान, हुने होच्याउने वा घृणा वा द्ेष फैलाउने काम गरी राष्ट्रहित प्रतिकुल कार्य गरेको पुष्टि भएको तथा नेपाल नागरिक उडयन प्राधिकरणको आन्तरिक टर्मिनल शाखाले हेलिकोप्टर कम्पनिलाई लेखेको पत्र र सीआईबी पक्राउ गरेको रविन्द्र अधिकारीबारेको प्रेस वक्तव्य समेत पठाएको अभियोग पत्रमै उल्लेख छ ।
त्यस्तै अडियोमा सुनिएको तथ्यलाई लिएर सरकारी वकिल कार्यालयले सिंहमाथि तथ्यांक लुकाउन र प्रमाण लुकाउन र अनुसन्धानलाई प्रभावित पार्न निरन्तर लागि रहेको पुष्टि भएको दाबी गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्ले र जिल्ला न्यायधिवक्ता गोविन्द प्रसाद हुमागाइँको चलखेलको आधारमा सिंहलाई उन्मुक्ति दिइएको स्रोतले जनाएको छ । सोमबार प्रकाशित आर्थिक दैनिकका अनुसार फेक रेस्क्युमा फरार रहेका केही अभियुक्तहरुले एकसाता देखि नै मुद्दा मिलाउनका लागि रकम संकलन थालेका थिए । फरार अभियुक्तहरुले ३५ करोड रुपैयाँ उठाएर सरकारी वकिल कार्यालयलाई सेटिङ गरेको आरोपसहितको समाचार आर्थिक दैनिकले छापेको छ । त्यस्तै नयाँ पत्रिका दैनिकमा टेकराज थामीको बाइलाइनमा छापिएको समाचारमा श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको दबावमा महान्यायधिवक्ता कार्यालय समेतको मिलेमतोमा सिंहलाई प्रतिवादी नबनाइएको उल्लेख छ ।

नयाँ पत्रिकामै जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता मोहन खनालले दिएको प्रतिक्रिया अनुसार सिंहलाई लाभ ग्राही भएको नदेखिएकोले प्रतिवादी नबनाइएको हो । तर, उनले त्यसो भनेपनि सिंहले दिएको बयानमा माउन्टेन हेलिकोप्टरको सबैभन्दा व्यापार दिने व्यक्ति नै श्याम कँडेल हुन् । सीआईबीले माउन्टेन हेलिकोप्टरका सेल्स एण्ड मार्केटिङ विभाग एसिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत सन्दिप भण्डारीलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाएको छ । अभियोग पत्र अनुसार कँडेलको स्वामित्व रहेको स्वाकन हस्पिटल, माउन्टेन हेलि र स्वाकनको एम्बुलेन्स कोर्डिनेशनको ग्रुपमा समेत जोडिएका छन् । माउन्टेन हेलिकोप्टरले मनास्लुको सामागाउँबाट प्रतिवादी जयराम रिमाल र कँडेलको स्वामित्व रहेको माउन्टेन रेस्क्यु प्रालीसँगको मिलेमतोमा अधिकांश रेस्क्यु गरेको देखिन्छ । माउन्टेन हेलिकोप्टरका सन्दिप र विवेकको मिलेमतोमा किर्ते मेनिफेस्टो समेत बनाएको देखिन्छ ।

सन्दिप भण्डारीको खातामा पटक पटक रकम समेत गएको देखिन्छ । अभियोग पत्र अनुसार २१ जना व्यक्तिको किर्ते मेनिफेस्टो बनाएर माउन्टेन हेलिकोप्टर प्रा.लीका सन्दिप भणरीको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकको खातामा एक करोड ७१ लख ८१ ह्जार ७ सय ८२ रुपैयाँको कारोबार भएको देखिन्छ । हाल हिरासतमै रहेका जयराम रिमाल र मुक्ति पाण्डेको कर्मचारीको तर्फबाट माउन्टेन हेलिकोप्टरको कर्मचारी सन्दिपको नाममा रकम जम्मा भएको छ । तर, सरकारी वकिल समक्ष बयान गर्दा सिंहले किर्ते मेटिफेस्टोबारे कुनै जानकारी नभएको र किर्ते मेनिफेस्टो बनाउन संस्थागत निर्णय’ नभएको हास्यास्पद तर्क गरेका छन् । जबकी प्रतिवादी कुनै पनि व्यक्तिले किर्ते र अपराध गर्दा संस्थागत निर्णय भएको वा नभएको विषयमा बयान दिएका छैनन् ।

माउन्टेन हेलिकोप्टरकै सन्दिपलाई सरकारी वकिल कार्यालयले ३ लाख २३ हजार बिगो कायम गरेर अभियोग पत्र पेश गरेको छ ।

सिंहलाई उन्मुक्ति दिँदा सरकारी वकिल कार्यालयले आफैले पेश गरेको अघिल्लो पृष्ठहरुमा दोषी करार गरिएको वाक्यलाई समेत ख्याल गरेको छैन । अघिल्ला पृष्ठहरुमा तथ्य र प्रमाणका आधारमा अपराधी करार भएका सिंहलाई अन्तिम पृष्ठमा भने ‘पक्राउ प्रतिवादी राजेन्द्र बहादुर सिंहको हकमा हालसम्मको अनुसन्धानबाट प्रस्तुत कसुरमा संलग्न रहेको साथै लाभ समेत लिएको नखुलेको हुँदा निजको हकमा हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको हुँदा निकाशा भई आए बमोजिम गरिनेछ’ भनि लेखेर उन्मुक्ति दिइएको छ ।

फेक रेस्क्यु धन्दामा उन्मुक्ति पाएका सिंहले तथ्यांक लुकाउन भूमिका खेलेको अडियो

फेक रेस्क्यु धन्दा : विचौलिया सिंह र नागरिक दैनिकका सम्पादक लुँइटेलको सेटिङ्गमा छापियो समाचार

फेक रेस्क्यु धन्दा : श्रीद्धि अस्पतालमा आएका विरामी क्याफेमा ‘बियर पिएर चिल्ड’ !

फेक रेस्क्युमा अन्तर्राष्ट्रिय मिडियामा बद्नाम राम सापकोटा सीआइबीको ‘राडार’ बाहिरै !

 

फेक रेस्क्यु धन्दा : २३ जना फरार, ३१ कम्पनीलाई मुद्दा चलाउन सीआइबीको सिफारिस, ९४ करोड बिगो