काभ्रे , ३ वैशाख । काभ्रेपलाञ्चोकको डराउनेपोखरीस्थित पुरानो हटियामा तीन दिनसम्म बिजुलीबत्ती नआए खानेपानीको हाहाकार हुने गरेको छ ।
चारसय घर रहेको पुरानो हटियामा पहिलेपहिले गाउँको बीचमा रहेका तीनधारा र नारायण कुवाको पानी प्रयोग गर्दै आएपनि अहिले कुनै धारामा पानी आउँदैन । डराउनेपोखरीका मानिस पानी नआएपछि अहिले सात किलोमिटर तल रोशीखोलाबाट बिजुलीले तानेर पानीको प्रयोग गर्न बाध्य छन् ।
रोशीखोलाबाट एकपटकमा एक लाख लिटरसम्म पानी तान्ने गरेका डराउनेपोखरी हटियावासीले पानी प्रयोगका लागि मासिक ३५० रुपैयाँ तिर्ने गर्दछन् । तीन दिन बत्ती आएन भने बिजुलीबाट खानेपानी तान्न नपाएपछि पानीको हाहाकार हुन्छ ।
तीन दिनसम्म पनि बत्ती आएन र खानेपानीको हाहाकार भएपछि एक घन्टा हिँडेर ठूलोधारा भन्ने ठाउँमा पानी लिन जानुपर्छ । गाँउभरि नै पानी नआएपछि सबै जाँदा एक गाग्रो पानीका लागि तीन÷चार घन्टा लाइन बस्नुपर्ने स्थानीय पोडेमाया तामाङले बताइन। तामाङले भनिन, “भूकम्पपछि त गाउँका कुवा र धारामा पानी देख्नै पाइएन ।” त्यहाँका कतिपय जनताले त पानीको समस्याले गर्दा बसाइँसराइ नै गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपरेपछि पानीको हाहाकार भएको हो ।
पहिलेपहिले प्रशस्त पानी हुने गरेपनि दुई÷तीनवर्ष यतादेखि खानेपानीको समस्या देखापरेको हो । स्थानीयवासी ७० वर्षीय हर्कबहादुर श्रेष्ठले पछिल्लो समय पिउने पानीको समस्या भएको बताए । उनले भने, “म ७० वर्ष भएँ अहिलेसम्म यो गाउँमा पानीको समस्या थिएन, विगत दुई÷तीन वर्षदेखि पानीको साह्रै समस्या भएको छ, पानी खान नपाएर मरिन्छ कि भन्ने चिन्ता लागेको छ ।”
स्थानीयवासी रामचन्द्र श्रेष्ठले प्रत्येक दिन बिहान आधा घन्टा पानी थाप्ने व्यवस्था भएको र २० मिनेटभन्दा बढी पानी थापे थप ५० रुपैयाँ लिने गरेको गुनासो गरे । पानीको समस्या भएपछि डराउनेपोखरी हटियाका मानिसले गाईवस्तुसमेत कम पाल्न थालेका छन् ।
माथि उल्लिखित मानिस त केवल त्यस क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय मध्यपहाडी क्षेत्रको अधिकांश स्थानमा पानी सुक्ने समस्या हुने गरेको छ । सो गाउँमा घरदेखि बैठकसम्म पानीको बारेमा छलफल हुने गरेको छ ।
नेपाल खानेपानी संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा दीपक ज्ञवालीले मध्यपहाडी क्षेत्रको अधिकांश स्थानमा पानी सुकेको बताउनुभयो । ज्ञवालीले प्रविधिको विकाससँगै धेरै क्षेत्रमा मेसिनबाट पानी तान्ने गर्दा पानी सुकेको उल्लेख गरे ।
उनले भने, “स्थानीय सरकार जबसम्म बलियो हुँदैन तबसम्म पानीको समस्या समाधान हुँदैन ।” प्रतिष्ठानले उक्त क्षेत्रमा गत दुई वर्षदेखि खानेपानीको अध्ययन गरिरहेको छ ।
यस्तै, प्रतिष्ठानले ग्रामीण भेगमा भएका अलिअलि धारा पनि पूरा नसुकुन् भन्नका लागि पोखरी संरक्षण अभियानसमेत थालेको छ । सो क्षेत्रमा रहेका २५० पोखरीमध्ये १४ वटा पोखरीलाई लिएर अध्ययनसमेत गरेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पानी तथा जलवायुविज्ञ डा सन्तोष नेपाल पानीको धारा सुक्न नदिन र दिगो बनाउन पोखरीको संरक्षण गर्नुपर्ने बताए।
उहाँ भन्नुहुन्छ, “उच्च क्षेत्रमा बोटबिरुवा संरक्षण गर्ने पोखरीको संरक्षण गर्ने हो भने तल्लो क्षेत्रका जनतालाई पानीको समस्या पर्दैन ।” पानीको समस्या कम गर्नका लागि उच्च क्षेत्र र तल्लो क्षेत्रका जनताबीच एकआपसमा सहयोगको भावना हुनु जरुरी छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki