काठमाडौं, ११ साउन । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा करिब १९ हजार शेयर सदस्य छन् ।
ती सदस्यहरुले सहकारीमा करिब ४१ करोड रुपैयाँ लगानी गरेका छन् । संस्थागत शेयर सदस्य र अन्य बचत कर्ताको करोडौँ लगानीको ग्राफ यो भन्दा कयौँ गुणा माथि छ । सहकारीको अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको वेभसाइटमै उल्लेख छ । तर, अर्बौंको सम्पत्ति रहेको सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले भने हजारौँ जनताको लगानीमा मनोमानी गर्दै आएका छन् ।
सर्वसाधरणले श्रम पसिना बगाएर जम्मा गरेको रकम निकालेर भण्डारीले घरजग्गा दलालीधन्दा चलाउँदै आएको अर्को प्रमाण फेला परेको छ ।
ऋणीहरुसँग आफै पार्टनरसिप बस्ने र सहकारीको पैसा लगानी गर्ने मात्रै होइन उनी आफैले एउटा कम्पनी नै खडा गरेर घरजग्गा दलालीको धन्दा चलाइरहेका छन् । तर, शेयर सदस्यहरुलाई भने गुम्राहामा पार्ने गरिएको छ ।
दियोपोस्टले फेला पारेको स्टेटमेन्ट अनुसार भण्डारीले करोडौँ रुपैयाँ सहकारीबाट ऋणको नाममा निकाल्ने र घरजग्गामा लगानी गर्ने गरेको तथ्य उजागर भएको छ ।
२०७४ साल पुस ४ गते घर जग्गा कारोबारका लागि लालीगुराँस सहकारीबाटै भण्डारीले ३ करोड ५० लाख ऋण निकालेको देखिन्छ । जसमा ब्याज भने १२ प्रतिशत मात्रै छ । अन्य सर्वसाधरणलाई भने २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी लगाउने गरिएको छ ।
ल्यान्ड प्रचेज लोन शिर्षकमा उनले यतिका रकम लिएर ललितपुरका विभिन्न स्थानमा जग्गामा लगानी गरेको स्रोत बताउँछ ।
तत्कालिन गभर्नर युवराज खतिवडा हालका अर्थमन्त्रीले घर जग्गामा ऋण लगानी नगर्न सर्कुलर नै गरेतापनि भण्डारीले भने आफ्नै हात जगन्नाथ भने जस्तै सर्वसाधरणबाट रकम उठाएर जग्गा दलाली धन्दा नै चलाउँदै आएका छन् ।
त्यस्तै २०७२ साल चैत्र २९ गते भण्डारीले लालीगुराँस सहकारीबाटै १ करोड ८५ लाख रुपैयाँ निकालेका छन् । उक्त ऋणको ब्याजदर भने ३ प्रतिशत मात्रै छ । उनले उक्त ऋणमा पनि पटक पटक ब्याज मिनाहा गराएको रेकर्डमा देखिन्छ ।
जय लालीगुराँस इन्भेष्टमेन्टको नाममा जग्गा कारोबार !
ललितपुरको पुल्चोकमै रहेको लालीगराँस भवनमा एउटा कम्पनि छ–जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रा.ली । प्रिन्टिङ प्रेस, एडभटाइजिङ एजेन्सीदेखि सम्पत्ति मुल्यांकनसम्मको काम हुने भनिएको उक्त कम्पनिमा सहकारीबाट करोडौँ रुपैयाँ ऋण गएको देखिन्छ ।
सन् २०१४ जुलाई १५ मा घरजग्गा कारोबार ‘लङटर्म : ल्यान्ड पर्चेज’ शिर्षकमा उक्त इन्भेष्टमेन्ट कम्पनिलाई ४ करोड ८० लाख ऋण दिइएको देखिएको छ ।
आश्चर्य त के छ भने अन्य व्यक्तिलाई ‘‘लङटर्म : ल्यान्ड पर्चेज’ शिर्षकमा २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी तोकिएको छ । आफ्नै कम्पनिलाई भने १७ प्रतिशत ब्याज र शुन्य प्रतिशत पेनाल्टी तोकिएको छ ।
स्टेटमेन्ट अनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनिको नाममा लालीगुराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ ।
त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रा.लीको नाममा ९५ लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिएको छ ।
यो कम्पनिको मुख्य व्यक्ति सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी नै हुन् । तर, कम्पनिका स्टाफलाई सम्पर्क गर्दा भण्डारी उक्त कम्पनिको ‘कोही नभएको, चिनजान नै नभएको’ प्रतिक्रिया दिए । यी रकम भण्डारीले घरजग्गामा लगानी गर्ने र त्यहाँबाट अकुत सम्पत्ति आर्जन गरेको उच्च स्रोत बताउँछ ।
त्यसो त लालीगुराँस सहकारीमै रहेको भण्डारीको सेभिङ एकाउन्टमा करोडौं रकम रहेको देखिएको छ । दियोपोस्टले फेला पारेको उक्त स्टेटमेन्टमा उनको खातामा अस्वभाविक रकम देखिन्छ ।