माओवादीमा वर्षमानलाई अर्थमन्त्री बनाएर जनार्दनलाई महासचिव बनाउने तयारी

दियो पोस्ट  

काठमाडौं । करको दायरा हेरफेर गर्दा चौधरी समुह र माफिया दिपक भट्टको कर्मचारीलाई साक्षी राखेको विषयमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मालाई अन्तत सम्मानजनक बहिगर्मनको बाटोमा जान शिर्ष नेताले निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् । माओवादी केन्द्र भित्र जनार्दनलाई अर्थमन्त्रीबाट राजिनामा गराएर सम्मानजनक बहिर्गमन गराउने र उनको स्थानमा पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुनलाई पठाउने तयारी भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीचको भेटवार्तामा शर्मालाई २ दिन भित्र राजिनामा दिन निर्देशन दिइएको उच्च स्रोतले जनाएको छ । शर्माले संभवत आज वा भोली नै राजिनामा दिने तयारी गरेका छन् । तथापी समाजिक संजालमा भने आफू निकट मिडिया प्रयोग गरेर राजिनामा नदिने अडान दोहोर्याइरहेका छन् । माफिया व्यापारीको हितअनुकुल करको दर हेफेर गरेका शर्माबारे माओवादी केन्द्रले लामो समयदेखि रहस्यमयी मौनता देखाएको छ । सत्तारुढ दल कांग्रेस नेताहरुले समेत सार्वजनिक रुपमा विरोध गरिरहँदा माओवादीका कुनै पनि नेताले शर्माबारे प्रश्न उठाएका छैनन् ।

‘अर्थमन्त्री ज्युले बुधबार वा विहिबार भित्र राजिनामा दिनुहुन्छ,’ एक माओवादी नेताले भने,‘तर, पार्टी भित्रको व्यवस्थापन भने अहिले नै निर्णय भएको अवस्था होइन । अध्यक्ष प्रचण्डले जे गर्नुहुन्छ त्यसमा भर पर्छ ।’