काठमाडौँ — करको दर हेफेरमा व्यापारीका एजेन्टलाई मन्त्रालयमा प्रवेश गराएर बजेट ल्याएको भन्दै विवादमा आएका अर्थमन्त्री जनार्दन शर्मालाई अर्को झड्का लागेको छ । मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।
बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ । जनार्दन शर्माको मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले बताएका छन् ।
अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।